काठमाडौं । भारतका चर्चित सामाजिक अभियन्ता अन्ना हजारेले दिल्ली विधानसभामा आम आदमी पार्टी (आफ)को शर्मनाक पराजयका लागि पार्टीकै नीति जिम्मेवार रहेको टिप्पणी गरेका छन् ।
हजारले दिल्लीको मदिरा नीतिमा भएको कथित घोटाला पनि पराजयको एउटा प्रमुख कारण भएको जनाए ।
न्यूज एजेन्सी एएनआईसँगको कुराकानीमा उनले चुनाव लड्नेको आचरण शुद्ध हुनुपर्ने बताए । ‘मैले पहिले नै भनेको थिएँ कि चुनाव लड्ने उम्मेदवारको आचरण शुद्ध हुनु आवश्यक छ, विचार शुद्ध हुनुपर्छ, जीवन निष्कलंक हुनुपर्छ’ उनले भने, ‘र, अपमान सहन सक्ने क्षमता हुनुपर्छ। यदि यी गुणहरू उम्मेदवारमा छन् भने मतदातालाई यो व्यक्ति जनताको लागि केही गर्नेछ भन्ने विश्वास हुन्छ ।’
उनले यसअघि पनि पटकपटक आपलाई चेतावनी दिए पनि सुनुवाइ नभएको टिप्पणी गरे । ‘मैले पटक-पटक चेतावनी दिएको थिएँ, तर उनीहरू (आप) ले ध्यान दिएनन्, अन्ततः मदिराको विषय उठ्यो,’ उनले भने ।
उनले अगाडि थपे, ‘मदिरा विवाद किन उठ्यो? किनभने उनीहरू पैसामा बगे। मदिराका कारण उनीहरू बदनाम भए। जनतालाई पनि मौका मिल्यो कि उनीहरूले भनी दिन सकून् – यो नैतिकता र इमानदारिताको कुरा गर्छ, तर अर्कोतिर मदिराको पक्षमा नीति बनाउँछ।’
हजारेले यही कारण आपले दिल्लीमा चुनाव हारेको बताए । आपको चुनावी प्रदर्शनमा मदिरा नीतिले प्रभाव पारेको हो भन्ने प्रश्नमा उनले सहमति जनाए ।
‘राजनीतिमा आरोप-प्रत्यारोप भइरहन्छन्। तर जब आरोप लगाइन्छ, त्यसलाई गलत प्रमाणित गर्न जनतासमक्ष स्पष्ट गर्नुपर्छ’ उनले भने, ‘जब आरोपहरू गलत भएको प्रमाणित हुन्छ, तब कसैले केही बिगार्न सक्दैन।’