काठमाडौं । चलचित्र विकास बोर्डको अध्यक्ष छनोटका लागि सूचना तथा सञ्चार मन्त्रालयले तीन सदस्यीय समिति गठन गरेको छ ।
मन्त्रालयका सचिव राजेन्द्रकुमार पौडेलको संयोजकत्वमा गठित समितिमा बोर्डका कार्यवाहक अध्यक्ष रविलाल शर्मा र फिल्मकर्मी अशोक शर्मा सदस्य छन् । मन्त्रीस्तरीय निर्णयबाट समिति गठन गरिएको मन्त्रालयले जनाएको छ ।
बोर्ड अध्यक्ष पदका लागि मन्त्रालयले केही दिनअघि आवेदन मागेको थियो ।
आवेदन दिने अन्तिम मिति बुधबार तोकिएको छ । प्राप्त आवेदनमध्येबाट एक जनाको नाम अध्यक्षका लागि सिफारिस गर्ने जिम्मेवारी छनोट समितिलाई दिइएको छ । हालसम्म अध्यक्ष पदका लागि कति आवेदन परेको छ भन्ने विवरण भने मन्त्रालयले सार्वजनिक गरेको छैन ।


