काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले अमेरिका भ्रमणमा जानेक्रममा विदाईको परम्परा तोड्ने भएका छन्।
उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मंगलबार अपरान्ह न्युयोर्क जान लागेका प्रधानमन्त्री शाहले औपचारिक विदाईमा यसअघि जस्तो औपचारिकता नहुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको हो।
यसक्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भीआईपी लाउन्जमा परम्परागत औपचारिक बिदाइ समारोहको कुनै कार्यक्रम नहुने बताइएको छ। प्रधानमन्त्री शाह बालुवाटारबाट सिधै विमानस्थल जाने र भीआइपी वे हुँदै विमानतर्फ जानेछन्। प्रधानमन्त्री शाह साँझ ७ बजे कतार एयरवेजमार्फत न्यूयोर्क प्रस्थान गर्ने कार्यक्रम रहेको छ।
विगतमा प्रधानमन्त्रीको विदेश भ्रमणमा जाँदा विमानस्थलमा मन्त्री, सुरक्षा निकायका प्रमुख, उच्चपदस्थ कर्मचारी, विदेशी कूटनीतिज्ञ तथा राजनीतिक दलका नेताहरु विमानस्थल पुग्ने गरेर बिदाई गर्ने परम्परा रहेको थियो। त्यस्तै, प्रधानमन्त्रीको विदाइमा नेपाली सेनाले गार्ड अफ अनरसमेत दिने परम्परा रहेको थियो। यस पटक भने प्रधानमन्त्रीको बिदाईका लागि कसैलाई निमन्त्रणा नगरिएको बुझिएको छ।
भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण देश शोकमा रहेकाले प्रधानमन्त्रीकै इच्छा अनुसार औपचारिक कार्यक्रम नराखिएको जनाइएको छ।
प्रधानमन्त्री शाहले महासभाको उच्चस्तरीय सत्रलाई असोज ८ गते (सेप्टेम्बर २४) मा सम्बोधन गर्ने कार्यक्रम रहेको छ। यसक्रममा उनले राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ। प्रधानमन्त्री शाह यही असोज १० गते स्वदेश फर्किने तालिका रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।


