काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले नागरिकलाई दुःख दिइरहेको आरोप लगाएका छन् ।
सम्झाइबुझाइ गरेर पठाउन सकिने घटनामा पनि कडा–कडा मुद्दा लगाइरहेको उनको गुनासो छ । प्रचण्डले भने, ‘सम्झाइबुझाइ गरेर पठाउन सकिने घटनामा समेत नागरिकलाई हतकडी लगाएर एउटा जिल्लाबाट अर्को जिल्ला दगुराइँदैछ, कडा–कडा मुद्दा लगाइँदैछ । यो सत्ताको घमन्ड हो कि जनतासँग डर हो ?’ प्रचण्डले पनि त्यसै घटनाप्रति संकेत गर्दै सरकार निरंकुश ढंगले अघि बढ्न खोजेको र नागरिकलाई दुःख दिन खोजेको आरोप लगाएका हुन् ।
उनले सरकारले राजनीतिक प्रतिशोध साँध्ने र त्यसका लागि राज्यको दुरुपयोग सामान्य हुन थालेको टिप्पणी समेत गरे । पाथिभरा केवलकारको विवादमा झडप हुँदा प्रहरीले गोली चलाएको र सामाजिक सञ्जाल नियमन विधेयक ल्याएर अभिव्यक्ति स्वतन्त्रतालाई वैधानिक रुपमै नियन्त्रण गर्न खोजेको घटनासमेत जोड्दै प्रचण्डले सरकार दमनको बाटो हिँडेको आरोप लगाए ।
प्रचण्डले प्रश्न गरे, ‘यो के हो ? नागरिक सम्प्रभुताभन्दा माथि हो तपाईहरु ? संविधानभन्दा माथि हो ? तपाईहरु मालिक र नागरिक दास हो ?’