–प्रीति रमण
आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरुले अहिले अपराधकर्म गर्न प्रयोग गर्ने विधि हो, हनिट्र्याप । विशेषगरी महिलालाई प्रयोग गरेर पैसावाल व्यक्तिबाट रकम उठाउने वा अन्य आपराधिक कर्म पूरा गर्ने प्रवृत्ति हनिट्र्याप हो । यस्तै, महिला स्वयंले पनि धनाढ्य व्यक्तिसँग सम्बन्ध बनाएर ब्ल्याकमेलिङ गरी पैसा लिने काम पनि हनिट्र्याप हो । प्रहरीका अनुसार अहिले यस्तो आपराधिक गतिविधि खुबै बढेको छ । यसमा महिलाको प्रयोग हुनु अझ चिन्ताको विषय हो ।
हनिट्र्यापको एउटा उदाहरण हेरौं, हालै काठमाडौं जिल्ला अदालतले ओखलढुंगा स्थायी ठेगाना भएकी एक महिलालाई आपराधिक लाभको कसुरमा दोषी ठहर गरेको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश श्यामलाल घिमिरेको इजलासले हनिट्र्यापको कसुरमा थुनामा रहेकी देवी थापालाई दोषी ठहर गरेको हो । देवी थापासँगै अर्का आरोपी सुदर्शन सापकोटालाई पनि दोषी ठहर गरिएको छ । काठमाडौंँ जिल्ला अदालतका सूचना अधिकारी सिपी पन्थीका अनुसार अदालतले आपराधिक लाभ लिने कार्यमा संलग्न युवती देवी थापालाई ६ महिना कैद र ५ हजार रुपैयाँ जरिवानाको समेत फैसला भएको छ । थापाबाट पीडितलाई ७ लाख बिगो भराउने फैसलासमेत भएको छ । अर्का प्रतिवादी सुदर्शन सापकोटालाई ७ दिन कैद र १ हजार रुपैयाँ जरिवाना तथा पीडितलाई २ लाख बिगो भराउने फैसला भएको हो । काठमाडौं जिल्ला अदालतमा २०७८ मंसिर ६ गते दर्ता भएको आपराधिक लाभ (हनिट्र्याप)को मुद्दामा अदालतले २ वर्षपछि फैसला सुनाएको हो ।
देवीले एक जुनियर प्रहरी अधिककृतलाई हनिट्र्यापमा पारी १७ लाख रकम असुल गरेपछि जाहेरी परेको थियो । सोही जाहेरीका आधारमा थापा २०७८ कात्तिक ९ गते नक्सालबाट पक्राउ परेकी थिइन् । उनले हनिट्र्यापमा पारी सिन्धुलीका एक ठेकेदारसँग ४५ लाख, प्रहरीका सईसँग १७ लाख, सहकारीमा काम गर्ने एक युवकसँग १३ लाख, ओखलढुंगाकै एक युवकसँग २ लाख २१ हजार रुपैयाँ लिएकी पाइएको छ । रकम लिई फिर्ता माग्दा देवीले उल्टै काठमाडौं जिल्ला अदालतमै बलात्कारको मुद्दासमेत दिएकी थिइन् । तर, अन्ततः अदालतले देवीलाई नै दोषी ठहर गरेको छ ।
प्रहरीका अनुसार पछिल्ला वर्षयता यस्ता हनिट्र्यापका घटना झनै बढेका छन् । यस क्रममा दाङका एक व्यवसायीको मृत्यु नै भएको केही वर्षअघि सार्वजनिक भएको थियो । त्यसैले सुरक्षाकर्मीका लागि यो टाउको दुखाइको विषय बनेको छ । कसरी हुन गरेको छ त हनिट्र्याप ? हनिट्र्यापमा महिला आफै संलग्न हुने वा अन्यले प्रयोग गर्ने गरेको पाइन्छ । यस्ता अपराधमा संलग्न रहेका युवतीहरू प्रायः सुन्दर, खानदानी देखिने बन्छन् । जो चाँडै प्रेम बन्धनमा बाँधिएको नाटक गर्छन् । युवक अथवा पुरूषले प्रस्ताव राख्न हिचकिचाए पनि प्रस्ताव राख्छन् र कुनै नाटक गरी समस्या सुनाउँछन् । समस्या सुनाउँदा पनि काम नभए अपहरण गरी रकम हात पार्छन् । प्रायः यस्ता युवतीको गिरोह नै हुन्छ । भारतमा यस्तो गिरोहको ठूलो सञ्जाल छ, जुन नेपालसम्म विस्तार भइसकेको छ ।
प्रहरीका अनुसार यो अलग प्रकारको अपराध हो । यसमा प्रेमजालको पासो थापेर लुट्ने र भाग्ने या हत्या गर्नेसम्मका काम हुन्छन् । यस्तो गिरोहले सम्बन्धित व्यक्तिलाई लामो समयदेखि अध्ययन गरेर उसको पछि लागेको हुन्छ । कुनै न कुनै बेला आफ्नो जालमा फँसाएर ब्ल्याकमेलिङ गर्ने, त्यसले पनि काम नगरे अपहरणसम्म हुने गरेका कतिपय घटनाका प्रकृतिले पुष्टि गर्छ । प्रहरीमा आएका घटनामा हनिट्रयापमा पारी लुट्ने, रकम असुल्ने गरेको प्रशस्त भेटिएको छ । तर, कतिपय घटना उच्च घरानीया धनाढ्य अथवा व्यापारी व्यवसायीले प्रहरीसम्म आउन नदिने वा नचाहने गरेको पनि प्रहरीको अनुभव छ ।
खासमा लुटपाटका लागि मात्र नभएर कतिपय राष्ट्रिय सुरक्षाका गोप्य जानकारी लिनका लागि सुरक्षा अधिकारीलाई पनि ‘हनिट्रयाप’को माध्यमबाट फसाउने गरिँदै आएको छ । हनिट्रयाप रुसबाट सुरु भएको थियो । अमेरिकाका गोप्य जानकारी हात पार्नका लागि सीआईए अधिकारीबाट सूचना चुहाउन रुसले राम्री युवतीहरू खटाउने गथ्र्यो, जसमा अधिक सफलता मिलेको भन्ने चर्चा रुसमा भयो । कुटनीतिक, सुरक्षा संयन्त्रका वैधानिक जानकारीका लागि अवैध हिसाबका मिसनका रूपमा सुरु गरिएको हनिट्रयाप नेपालसम्म आइपुग्दा अपराधको एउटा नयाँ श्रृंखला बनेको छ ।
महिलाको शरीर, बोलीचाली र अन्य व्यवहारकोे आकर्षणमा पुरूषहरुलाई फसाएर आफ्नो स्वार्थ सिद्ध गर्ने कलाको रुपमा विकास भएको देखिएको छ, हनिट्र्याप । हनिट्र्यापमा अहिले महिलाको सुन्दरतालाई अर्थोपार्जनको हतियार बनाएर तिनै सुन्दर महिलालाई प्रयोग गरेर पुरूषहरुलाई उम्किनै नसक्ने अवस्थाको पासोमा पार्ने र जुन उद्देश्यले पासोमा पारिएको हो त्यो उद्देश्य पूरा गरेर पुरूषलाई घर, परिवार, समाजका अगाडि जिउनै नसक्ने स्थिति तयार गरिएको पाइन्छ । इन्टरनेटको माध्यमबाट युवा एवं प्रौढ, एकल पुरूष आदिसँग कुनै अपरिचित महिलाले आफ्नै सक्कली प्रोफाइलबाट वा कुनै अन्य कुनै सुन्दरीको आकर्षक फोटो राखेको नक्कली प्रोफाइलबाट परिचयको आदानप्रदान हुन्छ । केही पाउने लालचले कुनै पुरूषले त्यसको रेस्पोन्स गरेमा उनीहरुबीचको कुराकानी यतिसम्म गहिरिन्छ, यतिसम्म विश्वासमा पर्छन् कि उनीहरु नित्तान्त व्यक्तिगत कुराकानी समेत गर्न थाल्छन् । शारीरिक सम्बन्ध पनि हुने गरेको पाइन्छ । यसैलाई विभिन्न माध्यमबाट प्रमाण बनाएर उनीहरुले रकमको बार्गेनिङ गर्ने गरेको पाइन्छ ।
नेपालमा हनिट्र्याप बढ्नु र यसमा महिला प्रयोग हुनु चिन्ताको विषय हो । महिला संलग्न हुनुको एउटा कारण बेरोजगारी, कमजोर आर्थिक स्थिति लगायत हुन सक्छ भने अर्को आपराधिक मनोवृत्ति नै । त्यसैले महिलालाई शिक्षित, सचेत र आत्मनिर्भर बनाउने तथा उनीहरु रोजगारीको व्यवस्था गर्न सकेमा हनिट्र्यापका घटनामा पनि कमी आउन सक्छ ।-जनधारणा साप्ताहिकबाट