काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपालमा धार्मिक द्वन्द्व हुने खतरा रहेको चेतावनी दिएका छन्।
शुक्रबार राजधानीमा केन्द्रीय कार्यसमितिको निर्णय सार्वजनिक कार्यक्रममा बोल्दै अध्यक्ष थापाले सनातन धर्मावलम्बीहरूलाई जिस्क्याएर धर्म परिवर्तनको महारोग बढ्दै जाँदा नेपालमा डरलाग्दो धार्मिक द्वन्द्व हुने खतरा रहेको चेतावनी दिएका हुन्।
‘सनातन धर्मावलम्बीहरूलाई जिस्क्याउने र खेलवाड गर्ने काम गरिरहेका छन्। यो समस्या चर्किनु अगाडि दोषीलाई कानुनको कठघरामा उभ्याइयो। तर, धर्म परिवर्तनको यो महारोग बढ्दै जाँदा कुनै दिन नेपालमा डरलाग्दो धार्मिक द्वन्द्व हुने खतरा देखिरहेको छु। यसतर्फ सचेत हुनुपर्छ। यही हो परिवर्तनरु तपाईंहरू सनातन धर्मलाई नेपालबाट समाप्त पार्न चाहनुहुन्छरु,’ उनले भने।
अध्यक्ष थापाले केही समय अगाडि धरानमा गोरु काटिएको विषयमा समेत आपत्ति जनाएका छन्। उनले भने, ‘नेपालको कानुनले गौहत्यालाई निषेध गरेको छ। गौवंशको हत्या कानुनबमोजिम दण्डनीय छ। ९४ प्रतिशत सनातन धर्मावलम्बीहरूले गौमातालाई पूजा गर्छन्। तर, केही दिन अगाडि धरानमा उछृंखल तत्वहरूले गौवंशको हत्या गरेर भोज खाएर सामाजिक सद्भाव र एकतालाई खलबल्याएका छन्।’
उनले गणतन्त्र स्थापनापछि नेपालमा विदेशी हस्तक्षेप बढेर गएको समेत बताए। उनले नेपालका नेताहरूले विदेशीलाई सुनको किस्तीमा राखेर स्वागत गरिरहेको बताए।
‘विदेशीहरूको हस्तक्षेप र चलखेल बढेर गएको छ। ०६३ पछि ठूला पार्टीका नेताहरूले विदेशी हस्तक्षेपलाई सुनको किस्तीमा राखेर स्वागत गरिरहेका छन्,’ अध्यक्ष थापाले भने।


