काठमाडाैं । प्रमुख प्रतिपक्षी दलको रूपमा संसद्भित्र खेल्ने भूमिकाबारे रणनीति बनाउन नेकपा एमाले संसदीय दलको बैठक शुरू भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिनुअघि संसद् भवन नयाँ बानेश्वरमा संसदीय दलको बैठक बसिरहेको छ ।
एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने पार्टीको अडान रहेको जानकारी दिए । ‘सरकारलाई दिएको समर्थन फिर्ता भएर पार्टीले सरकार छाडेको हो । अहिले विश्वासको मत दिने कुरै छैन,’ नेम्वाङले भने ।
आइतवारदेखि संसदको प्रतिपक्षी बेन्चमा बसेको एमालेले सदनमा खेल्ने भूमिकाबारे छलफल गर्न लागेको हो । एमालेले जनजीविकाको मुद्दालाई लिएर संसद्मा रचनात्मक प्रतिपक्षको भूमिका खेल्ने नेताहरूले बताउँदै आएका छन् ।


