सिड्नी । अस्ट्रेलियाकाे सिड्नीमा आप्रवासनविरोधी प्रदर्शन भएको छ।
‘अस्ट्रेलिया मार्चेस’ अभियानअन्तर्गत आयोजना गरिएको उक्त प्रदर्शनमा सहभागीहरूले आप्रवासनमा कडाइ गर्न र नयाँ आप्रवासीको आगमन नियन्त्रण गर्न माग गरेका थिए।
वर्षाका बाबजुद भएको प्रदर्शनमा रोयल बोटानिक गार्डेन आसपासबाट म्याक्वेरी स्ट्रिट हुँदै हाइड पार्क र न्यु साउथ वेल्स संसद् भवनसम्म जुलुस निकालिएको थियो।
प्रदर्शनकारीहरूले राष्ट्रिय हित र अस्ट्रेलियाको पहिचानलाई प्राथमिकता दिनुपर्ने मागसहितका प्लेकार्ड र नारा प्रदर्शन गरेका थिए।
साे जुलुसमा आप्रवासन नीतिका आलोचक र राष्ट्रवादी विचारधारा राख्ने समूहहरूको सहभागिता थियो।
यस प्रदर्शनको प्रतिवादमा सिड्नी टाउन हल क्षेत्रमा शरणार्थी तथा आप्रवासी अधिकारका पक्षधर समूहहरूले पनि छुट्टै ‘काउन्टर र्याली’ गरेका थिए। उनीहरूले जातीय विभेद र आप्रवासीविरोधी गतिविधिको विरोध गर्दै अस्ट्रेलियाको बहुसांस्कृतिक पहिचान र सामाजिक विविधताको पक्षमा नाराबाजी गरेका थिए।
पछिल्लो समय अस्ट्रेलियामा बढ्दो जनसङ्ख्या, आवास सङ्कट र सार्वजनिक पूर्वाधारमाथिको दबाबलाई लिएर आप्रवासन व्यवस्थापनबारे बहस चर्किएको छ।
एकातिर आप्रवासी समुदायले अस्ट्रेलियाको स्वास्थ्य, शिक्षा, कृषि र निर्माणलगायतका क्षेत्रमा दिएको योगदानको चर्चा हुने गरेको छ भने अर्कोतिर पूर्वाधार र स्रोतमाथिको चापका कारण आप्रवासन नीतिमा कडाइ गर्नुपर्ने माग पनि उठिरहेको छ।
यसै सन्दर्भमा अस्ट्रेलियामा बसोबास गर्दै आएका नेपाली मूलका आप्रवासी राजीव भुसालले अवसर र आश्रय दिएको देशप्रति आप्रवासीहरूले पनि सम्मान देखाउनुपर्ने धारणा व्यक्त गरेका छन्।
आफूलाई स्वागत गर्ने देशको समाज, संस्कृति र मूल्यमान्यताको सम्मान गर्नु हरेक आप्रवासीको दायित्व भएको उनको धारणा छ।
‘कुनै देशले अवसर र राम्रो भविष्य दिएको छ भने त्यसको सम्मान गर्दै समाजमा सकारात्मक योगदान पुर्याउनुपर्छ,’ भुसालले भने, ‘पुस्तौँको मिहिनेतबाट निर्माण भएको समाजलाई कमजोर बनाउने वा अपमान गर्ने व्यवहार स्वीकार्य हुँदैन।’


