काठमाडौं । साहित्यकारद्वय वैरागी काइँला र गोपाल पराजुलीलाई ‘वानीरा प्रज्ञा पुरस्कार’ प्रदान गरिने भएको छ ।
साहित्यकार डा. वानीरा गिरीको स्मृतिमा स्थापित उक्त पुरस्कारको राशि १ लाख ५० हजार छ । काइँलालाई एक लाख र पराजुलीलाई ५० हजार रुपैयाँ पुरस्कार राशिसहित सम्मान गर्न लागिएको फाउन्डेसनले जनाएको छ ।
वानीरा फाउन्डेसनका संस्थापक तथा संरक्षक शङ्कर गिरीको उपस्थितिमा अध्यक्ष श्रीमती इन्दिरा प्रसाईंको अध्यक्षतामा बसेको वानीरा फाउन्डेसनको बैठकले उक्त निर्णय गरेको हो । डा. वानीरा गिरीको ८०औँ जयन्तीका अवसरमा आगामी वैशाख १० गते काठमाडौंमा पुरस्कार प्रदान गरिने फाउन्डेसनका सदस्यसचिव नगेन्द्रराज प्रसाईंले जानकारी दिए ।


