काठमाडौं । काठमाडौं भित्रन र बाहिरिन सहज हुने उद्घोषका साथ उद्घाटन गरिएको नागढुंगा सुरुङमार्गले यात्रु र सवारी चालकलाई अर्को झन्झट थपेकाे छ । निकै तामझाम सहित उद्घाटन गरिएको सुरुङमार्ग छिटो र सहज यात्राका लागि निर्माण गरिए पनि सडक उपभोग शुल्क (टोल ट्याक्स) तिर्न लामो लाइन बस्नुपर्दा समयको झन् बर्बादी भएको गुनासो यात्रु तथा चालकहरूले गर्न थालेका छन् ।
यही सातादेखि टोल उठाउन थालिएको भए पनि बैंकहरूले स्वचालित प्रणाली मार्फत शुल्क संकलन गर्ने गरी ‘एन–ट्याग’ प्रयोगमा नआउँदा झन्झटको सामना गर्दै आएका छन् । सडक बोर्ड नेपालको सर्भरमा प्राविधिक समस्या आएका कारण बैंकहरूबाट एन–ट्याग वितरण हुन नसकेको हो ।
दैनिक करिव ७५०० सवारी आवत जावत गर्ने यो सुरूडमार्गमा चल्ने एन–ट्याग कार्ड चलाउन ८ वटा बैंकलाई जिम्मा दिइएको थियो तर सडक बोर्डको सर्भरका कारण तत्काललाई वितरण कार्य रोकिएको छ । यसको अभावमा हाल सुरुङमार्गको टोल प्लाजामा नगद र क्युआर कोडमार्फत मात्रै शुल्क संकलन भइरहेको छ, जसका कारण विशेषगरी सवारीको चाप बढी हुने ‘पिक आवर’ मा सवारीसाधनहरूको लामो लाइन लाग्ने गरेको छ ।
सुरुङमार्गबाट यात्रा गर्दा समय र पैसा दुवै बचत हुन्छ भनेको त टोल तिर्नै लाइन बस्नुपर्दा झन् ढिलो हुँदै आएको छ । स्वचालित प्रणाली पूर्ण रूपमा सञ्चालनमा नआएसम्म यात्रुहरूले टोल प्लाजामा केही समय लाइनमै कुर्नुपर्ने बाध्यता छ । राताे खबर


