काठमाडौं । नेपाली चलचित्र ‘पाँच पाण्डव’ मा महाभारतका श्रद्धेय पात्रहरूको प्रस्तुतीकरणले हिन्दू धार्मिक आस्था, सांस्कृतिक मर्यादा तथा धार्मिक भावनामा चोट पुर्याउन सक्ने भन्दै विश्व हिन्दू परिषद् नेपालले गम्भीर आपत्ति जनाएको छ। चलचित्रका सार्वजनिक प्रचार सामग्री, गीत तथा दृश्यहरूमा प्रस्तुत विषयवस्तुप्रति प्रश्न उठाउँदै परिषद्ले तत्काल निष्पक्ष छानबिन, आवश्यक सुधार र प्रदर्शनसम्बन्धी उचित निर्णय गर्न सम्बन्धित निकायसँग माग गरेको छ।
यसै सन्दर्भमा परिषद्ले चलचित्र विकास बोर्ड, काठमाडौंलाई औपचारिक ध्यानाकर्षणपत्र बुझाउँदै चलचित्रका गीत, दृश्य, संवाद तथा प्रचार सामग्रीको गम्भीर अध्ययन र छानबिन गर्न आग्रह गरेको हो।
परिषद्ले बुझाएको पत्रमा महाभारत हिन्दू सभ्यता, संस्कृति, दर्शन तथा आध्यात्मिक चेतनाको अनुपम धरोहर भएको उल्लेख गर्दै भगवान् श्रीकृष्ण, धर्मराज युधिष्ठिर, अर्जुन, भीम, नकुल, सहदेव तथा माता द्रौपदी करोडौँ सनातन हिन्दू धर्मावलम्बीहरूको श्रद्धा, आस्था र आदर्शसँग अभिन्न रूपमा जोडिएका पात्र भएको स्पष्ट पारेको छ।
पत्रमा चलचित्रका सार्वजनिक भएका केही दृश्य तथा गीतमा महाभारतका पात्रहरूलाई प्रस्तुत गरिएको शैलीले उनीहरूको स्थापित धार्मिक, सांस्कृतिक तथा नैतिक गरिमालाई कमजोर पार्ने र हिन्दू समुदायको धार्मिक भावनामा चोट पुर्याउने अवस्था सिर्जना गरेको परिषद्को ठहर रहेको जनाइएको छ।
परिषद्ले कला, साहित्य तथा चलचित्रमार्फत अभिव्यक्त हुने सिर्जनात्मक स्वतन्त्रताको सम्मान गर्नुपर्ने भए पनि त्यसका नाममा धार्मिक आस्था, ऐतिहासिक पात्रहरूको गरिमा र सांस्कृतिक मर्यादालाई बेवास्ता गर्न नमिल्ने धारणा व्यक्त गरेको छ। धार्मिक तथा ऐतिहासिक पात्रहरूलाई केवल मनोरञ्जन वा व्यावसायिक लाभको माध्यमका रूपमा प्रयोग गर्दा सम्बन्धित समुदायको आस्था र संवेदनशीलताको सम्मान अनिवार्य हुनुपर्नेमा समेत परिषद्ले जोड दिएको छ।
बोर्डसमक्ष छवटा प्रमुख माग
विश्व हिन्दू परिषद् नेपालले चलचित्र विकास बोर्डसमक्ष मुख्यतः छवटा माग प्रस्तुत गरेको छ। जसअनुसार चलचित्र ‘पाँच पाण्डव’ का सार्वजनिक भएका गीत, दृश्य, संवाद तथा प्रचार सामग्रीको तत्काल अध्ययन, परीक्षण र छानबिन गर्न; सार्वजनिक प्रदर्शनमा आउनुअघि सम्पूर्ण चलचित्रको गम्भीर समीक्षा गरी धार्मिक आस्था, सांस्कृतिक मर्यादा तथा सामाजिक सद्भावमा प्रतिकूल असर पार्ने सामग्री पहिचान गर्न आग्रह गरिएको छ।
त्यस्तै, महाभारतका श्रद्धेय पात्रहरूको गरिमा र धार्मिक भावनामा चोट पुर्याउने दृश्य, संवाद तथा प्रस्तुतिहरू आवश्यकताअनुसार हटाउन वा संशोधन गर्न निर्माण पक्षलाई निर्देशन दिन, चलचित्रका निर्माता तथा निर्देशकसँग आधिकारिक स्पष्टीकरण माग गर्न र विवादित सामग्रीमा आवश्यक सुधार नगरी प्रदर्शन गर्न खोजिएमा प्रचलित कानुन तथा चलचित्र जाँचसम्बन्धी कार्यविधिअनुसार प्रदर्शन अनुमतिसम्बन्धी आवश्यक निर्णय लिन परिषद्ले माग गरेको छ।
भविष्यमा धार्मिक ग्रन्थ, देवीदेवता तथा श्रद्धेय ऐतिहासिक एवं सांस्कृतिक पात्रहरूलाई चलचित्रमा प्रस्तुत गर्दा धार्मिक आस्था र सांस्कृतिक मर्यादाको सम्मान सुनिश्चित हुने आवश्यक व्यवस्था गर्न पनि परिषद्ले सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ।
माग सम्बोधन नभए विरोध र बहिष्कार अभियान
परिषद्ले सम्बन्धित निकायबाट उक्त विषयलाई गम्भीरतापूर्वक नलिइएमा तथा आवश्यक छानबिन र सुधार नगरी विवादित सामग्रीसहित चलचित्र प्रदर्शनको बाटो खुला राखिएमा देशव्यापी रूपमा शान्तिपूर्ण विरोध तथा चलचित्र बहिष्कार अभियान सञ्चालन गर्न बाध्य हुने चेतावनी दिएको छ। साथै, आवश्यकताअनुसार कानुनी तथा संवैधानिक उपायसमेत अवलम्बन गरिने पत्रमा उल्लेख छ।
परिषद्ले सम्बन्धित निकायबाट यस विषयमा अविलम्ब निष्पक्ष छानबिन, उचित हस्तक्षेप तथा आवश्यक निर्णय गरी त्यसबारेको कारबाही र निर्णयको लिखित जानकारी उपलब्ध गराउनसमेत अनुरोध गरेको छ।
विश्व हिन्दू परिषद् नेपालले आफू धार्मिक सद्भाव, सहिष्णुता र सामाजिक एकताको पक्षधर संस्था भएको उल्लेख गर्दै धार्मिक सहिष्णुताको अर्थ आफ्नो धर्म, संस्कृति, आस्था तथा आराध्य पात्रहरूको अपमान सहेर मौन बस्नु नभएको स्पष्ट पारेको छ।
परिषद्को भनाइमा धार्मिक तथा सांस्कृतिक विषयमा चलचित्र निर्माण गर्दा सिर्जनात्मक स्वतन्त्रतासँगै सामाजिक उत्तरदायित्व, धार्मिक संवेदनशीलता र सांस्कृतिक मर्यादाको पालना हुनु आवश्यक छ। यस विषयमा सम्बन्धित सरकारी निकायले समयमै गम्भीर ध्यान दिई उचित निर्णय गर्ने अपेक्षा परिषद्ले गरेको छ।


