काठमाडौं । नागरिकताको प्रमाणपत्र हराएका, झुत्रिएका वा नष्ट भएका नागरिकले अब आफ्नो स्थायी ठेगाना रहेको जिल्लामै पुग्नुपर्ने बाध्यता हटेको छ।
काठमाडौं उपत्यकामा बसोबास गरिरहेका अन्य जिल्लाका नागरिकले काठमाडौं, ललितपुर र भक्तपुरका जिल्ला प्रशासन कार्यालयबाटै नागरिकताको प्रतिलिपि लिन पाउने भएका हुन्। जिल्ला प्रशासन कार्यालय काठमाडौंले बुधबार सूचना जारी गर्दै अन्य जिल्लाका नागरिकलाई उपत्यकाबाटै नागरिकताको प्रतिलिपि उपलब्ध गराउने जानकारी दिएको हो। सरकारको १०० बुँदे शासकीय सुधार कार्यसूचीको बुँदा नम्बर २१ तथा नेपाल नागरिकता (पाँचौँ संशोधन) नियमावली, २०८३ बमोजिम यस्तो व्यवस्था गरिएको सूचनामा उल्लेख छ। नयाँ व्यवस्थाअनुसार काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट बागमती, गण्डकी र लुम्बिनी प्रदेशका जिल्लाका नागरिकले सेवा लिन सक्नेछन्।
त्यस्तै, ललितपुर जिल्ला प्रशासन कार्यालयबाट कर्णाली र सुदूरपश्चिम प्रदेशका जिल्लाका नागरिकले तथा भक्तपुर जिल्ला प्रशासन कार्यालयबाट कोशी र मधेस प्रदेशका जिल्लाका नागरिकले नागरिकताको प्रतिलिपि लिन सक्ने प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले जानकारी गराए ।
नागरिकताको प्रमाणपत्र आगलागी, बाढीपहिरो वा पानीले भिजेर नष्ट भएको, झुत्रिएर काम नलाग्ने भएको, हराएको, नयाँ ढाँचामा आवश्यक परेको वा अन्य कारणले प्रतिलिपि लिनुपर्ने अवस्थामा रहेका नागरिकले यो सुविधा पाउनेछन्। तर, प्रतिलिपि जारी गर्नुअघि सम्बन्धित नागरिकको विवरण राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणाली र केन्द्रीकृत नागरिकता सूचना व्यवस्थापन प्रणालीमा रहेको अभिलेखसँग भिडाइनेछ। यी प्रणालीमा विवरण मिलेमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको प्रतिलिपि जारी गरिने सूचनामा उल्लेख गरिएकाे छ।
अभिलेख नभेटिएको वा अभिलेखमा उल्लेख भएभन्दा फरक नाम, थर, जन्ममिति, ठेगाना वा अन्य विवरण सच्याएर प्रतिलिपि लिनुपर्ने अवस्थामा भने थप प्रक्रिया अपनाउनुपर्नेछ। नागरिकताको प्रमाणपत्र शंकास्पद देखिएका निवेदकलाई आफूले सुरुमा नागरिकता प्राप्त गरेको जिल्लामै सम्पर्क गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुरोध गरेको छ।


