काठमाडौं । आजदेखि नेवार समुदायले प्रत्येक बर्ष चान्द्रमास तिथी अनुरूप साउण शुक्ल प्रतिपदादेखि भदौ शुक्ल प्रतिपदासम्म एक महिना मनाउने गुँला पर्व सुरु भएको छ ।
काठमाडौं उपत्यकालगायत विभिन्न स्थानमा यो पर्व विशेष रूपमा मनाइन्छ । मानव जीवनलाई तुल्याउन नियमलाई पालना गरेर धर्म, कर्मका गर्ने उद्देश्यले यो पर्व मनाइने गरिँदैआएको छ । नेपाल संवत्अनुसार दशौँ महिनालाई गुँला भनिन्छ । गुँको अर्थ गुण गर्ने, राम्रो एवं गुनिलो काम, अरूको उपकार गर्ने कामलाई जनाउँछ ।
उक्त पर्वका अवसरमा जुन नियमले जीवनलाई राम्रो गर्छ, त्यसलाई पालना गरिन्छ । उक्त पर्व र यस महिनाका सन्दर्भमा अग्लो खाटमा नसुत्ने, मनोरञ्जन नगर्ने र समयमै भोजन गरिन्छ भने क्षमताअनुसार भित्री मनदेखि दान गर्ने प्रचलन छ । यस महिनाभर स्वयम्भू महाचैत्यमा विशेष मेला लाग्ने भएकाले आज बिहानैदेखि भक्तजन स्वयम्भूनाथ मन्दिर पुगेका छन् ।
राजधानी शहरका विभिन्न भागबाट गुँला बाजा बजाएर स्वयम्भू पुग्ने भक्तजनको प्रत्येक वर्ष यो महिनामा घुइँचो हुन्छ । वर्षभर निधन भएका व्यक्तिको नामबाट श्रृङ्गभेदीअर्थात् भैँसीको सिङबाट बनेको बाजा बजाएर स्वयम्भू पुग्ने भक्तजन धेरै हुन्छन् ।


