डडेल्धुरा । महाअष्टमीका अवसरमा सुदूरपश्चिमको प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा भगवती मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको छ ।
डडेल्धुरा सदरमुकामबाट करिब चार किलोमिटर उत्तरमा रहेको मन्दिरमा अष्टमी मेला भर्न विभिन्न जिल्लाबाट भक्तजन पुगेका छन् ।
उग्रतारा क्षेत्र विकास समितिका अध्यक्ष तेजबहादुर साँकीका अनुसार अष्टमी मेलाका अवसरमा राँगा र बोकाको बलि दिएर पूजाआजा गर्ने परम्परा छ । दशैंका दिन पनि मन्दिरमा विशेष पूजाआजा गरिन्छ ।
मेलामा सुदूरपश्चिमका नौवटै जिल्लासहित अन्य क्षेत्रबाट समेत भक्तजन आउने गरेको अध्यक्ष साँकीले बताए ।
उग्रतारा भगवती मन्दिरलाई सुदूरपश्चिमका नौ भगवतीका मन्दिरमध्ये एक मानिन्छ । किंवदन्तीअनुसार करिब दुई हजार ५०० वर्षअघि हालको अमरगढी नगरपालिका–८ स्थित लटाउली गाउँका एक स्थानीयले बारीमा हलो जोत्ने क्रममा हलोको फाली शिलामा लाग्दा रगत बगेको थियो । त्यसपछि देवी उत्पन्न भई दर्शन दिएको धार्मिक विश्वास छ ।
त्यसयता उग्रतारा भगवतीलाई महागौरी दुर्गा र कालीको स्वरूपमा पूजा गर्दै आइएको छ । लटाउली गाउँका साँकी र भट्ट जातिका पण्डित अहिले पनि मन्दिरका पुजारीका रूपमा रहेका छन् ।
विशाल फाँटमा डाँडामाथि अवस्थित मन्दिरसम्म पुग्न ओरालो झर्नु नपर्ने भएकाले पनि यसको विशिष्टता रहेको अध्यक्ष साँकी जनाउँछन् ।
उग्रतारा भगवती मन्दिरमा कार्तिक शुक्ल पूर्णिमाका दिन महापूजासहित ठूलो मेला पनि लाग्छ । देइजातका नामले चिनिने उक्त मेलाको ऐतिहासिक तथा सांस्कृतिक महत्त्व रहेको छ ।
प्राचीनकालमा विभिन्न गर्खाका लडाकुबीच वीरता प्रदर्शनका क्रममा भीषण युद्ध हुँदा रगतको खोला बगेको जनविश्वास छ ।
उक्त स्थानलाई स्थानीय रूपमा न्वाखोलाका रूपमा चिनिने गरिएको छ ।


