काठमाडौं । प्रधानमन्त्री बालेन शाहले बडादसैँले विश्वभर छरिएर रहेका नेपाली समुदायलाई एकताबद्ध गर्दै सबैको घरमा उत्सव र उमङ्ग ल्याउने विश्वास व्यक्त गरेका छन् ।
प्रधानमन्त्री शाहले शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत बडादसैँको शुभकामना दिँदै सत्यको बाटोमा हिँड्न र सुशासन कायम गर्न सबैलाई प्रेरणा मिलोस् भन्ने कामना गरेका हुन् ।
उनले नेपाली समाजमा सदियौँदेखि दसैँको विशेष महत्त्व रहँदै आएको उल्लेख गर्दै यस पर्वलाई एकता, आत्मीयता र पारिवारिक मिलनको सङ्गमका रूपमा व्याख्या गरेका छन् । दसैँले सानालाई माया र ठूलालाई आदर गर्ने नेपाली मौलिक परम्परालाई प्रतिबिम्बित गर्ने उनको धारणा छ ।
प्रधानमन्त्री शाहले विभिन्न विपत्ति र सङ्कटपूर्ण परिस्थितिका बाबजुद नेपालीहरूले धार्मिक, सांस्कृतिक तथा सामाजिक मूल्यमान्यताको जगेर्ना गर्दै चाडपर्व मनाउँदै आएको उल्लेख गरेका छन् ।
यस वर्ष रसुवा, नुवाकोट र गोरखालगायतका स्थानमा भएका विनाशकारी घटनाको शोक ताजै रहेका बेला दसैँ आएको उल्लेख गर्दै उनले ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका छन् । विस्थापित नागरिकको पुनःस्थापनाका लागि सरकारले काम गरिरहेको जानकारी पनि उनले दिएका छन् ।
दसैँलाई असत्यमाथि सत्य र आसुरी प्रवृत्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा उल्लेख गर्दै प्रधानमन्त्री शाहले प्रत्येक व्यक्तिले आफूभित्रका खराब प्रवृत्तिलाई चिन्न र तिनमाथि विजय प्राप्त गर्न सक्नुपर्ने बताएका छन् । उनले काम, क्रोध, लोभ, ईर्ष्या र अहङ्कारमाथि विजय प्राप्त गर्न पनि सबैलाई शुभकामना दिएका छन् ।
चाडपर्वका बेला पनि बाध्यताले विदेशमा रहनुपर्ने नेपालीहरूको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै प्रधानमन्त्री शाहले आर्थिक समृद्धि र नागरिकको सुखद जीविकाका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् । आर्थिक कारणले दसैँजस्तो महान् पर्व कसैका लागि बोझ बन्न नहुने उनको भनाइ छ ।
देशलाई सुशासनको मार्गमा अघि बढाउन सरकार अहोरात्र खटिरहेको उल्लेख गर्दै उनले सत्य र सुशासनको बाटोमा हिँड्न माता दुर्गाभवानीको प्रेरणा र कृपा सबैमा रहोस् भन्ने कामना गरेका छन् ।
प्रधानमन्त्री शाहले बडादसैँका अवसरमा सबै नेपालीको आरोग्य, सुख, शान्ति र समृद्धिको कामना गर्दै सभ्य र भव्य रूपमा दसैँ मनाउन आग्रह गरेका छन् ।


