काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अमेरिकासँग वार्ताका लागि प्रस्ताव गरेको र कतारको दोहामा आजै बैठक बस्न लागेको दाबी गरेका छन् । गत हप्ता दुई देशबीच भएको हवाई तथा सैन्य आक्रमणको शृङ्खलापछि इरान आफैँले बैठकका लागि अनुरोध गरेको राष्ट्रपति ट्रम्पको भनाइ छ । तर, इरानको परराष्ट्र मन्त्रालयले अमेरिकी राष्ट्रपतिको उक्त दाबीलाई पूर्ण रूपमा खण्डन गरेको छ । इरानले अमेरिकासँग कुनै पनि वार्ता वा बैठकको तालिका तय नभएको स्पष्ट पारेको छ । इरानी विदेश मन्त्रालयका अनुसार कतारमा रोक्का गरिएको इरानी कोष (फन्ड) फुकुवा गर्ने प्रक्रियाको फलोअपका लागि मात्र इरानले आफ्नो एक विशेषज्ञ टोली पठाउन लागेको हो ।
अमेरिकी कंग्रेस सदस्य (सांसद) रसिदा त्लेबले लेबनानमा इजरायलले गरिरहेको आक्रमणलाई अमेरिकाले गरिरहेको सहयोग बन्द गर्नुपर्ने माग गरेकी छन् । डेमोक्रेटिक पार्टीकी सांसद त्लेबले इजरायलको ‘रङ्गभेदी शासन, जातीय संहार र क्षेत्रीय विस्तारको अभियान’ मा अमेरिकी संलग्नता अन्त्य गर्नका लागि आफूले संसद् (कंग्रेस) मा पुनः मतदानका लागि दबाब दिने जनाएकी छन् ।
लेबनानमा इजरायली सैन्य कारबाहीका कारण अहिलेसम्म ४ हजार २५० भन्दा बढी सर्वसाधारणको नरसंहार भइसकेको दाबी गर्दै सांसद त्लेबले अमेरिकी समर्थनकै कारण यी युद्ध अपराधहरू भइरहेको आरोप लगाएकी छन् ।


