काठमाडौं। अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघको सातौँ महाधिवेशन आगामी २०८३ मंसिर ५ गते शनिबार आयोजना हुने भएको छ।
महाधिवेशन काठमाडौंको धुम्बाराहीस्थित लर्ड पार्टी भेन्युमा सम्पन्न हुने संघले जनाएको छ।
महाधिवेशनलाई भव्य, सभ्य तथा व्यवस्थित रूपमा सम्पन्न गर्ने उद्देश्यले विभिन्न देशमा रहेका संघका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदाधिकारी, प्रतिनिधि एवं रक्तदान अभियानमा सक्रिय अभियन्ताहरू काठमाडौं आउने क्रम जारी रहेको छ। महाधिवेशनमा विभिन्न देशबाट प्रतिनिधिहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।
महाधिवेशनको तयारीलाई तीव्रता दिँदै संघले विभिन्न विषयगत समिति तथा उपसमितिहरू गठन गरी जिम्मेवारी बाँडफाँट गरेको छ। गठित समितिहरूले आ–आफ्नो जिम्मेवारीअनुसार सक्रियतापूर्वक काम गरिरहेको संघका अध्यक्ष राहुल रेग्मीले जानकारी दिनुभयो।
अध्यक्ष रेग्मीका अनुसार महाधिवेशनलाई सफलतापूर्वक सम्पन्न गर्न आवश्यक व्यवस्थापकीय, संगठनात्मक तथा प्राविधिक तयारीलाई प्राथमिकताका साथ अगाडि बढाइएको छ। उहाँले महाधिवेशनलाई केवल संगठनको नियमित कार्यक्रमका रूपमा मात्र नभई विश्वभर छरिएर रहेका नेपाली रक्तदाता तथा रक्तदान अभियन्ताहरूबीच आपसी एकता, सहकार्य र अनुभव आदानप्रदान गर्ने महत्वपूर्ण अवसरका रूपमा लिइएको बताउनुभयो।
महाधिवेशनले संघको भावी कार्यदिशा, संगठनात्मक सुदृढीकरण, विश्वभर रहेका नेपाली रक्तदाता संस्थाहरूबीचको समन्वय तथा सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा महत्वपूर्ण छलफल र निर्णय गर्ने अपेक्षा गरिएको छ।
त्यसैगरी, नेपाल तथा विदेशमा स्वैच्छिक रक्तदानको प्रवर्द्धन, सुरक्षित रगतको सहज उपलब्धता सुनिश्चित गर्न जनचेतना अभिवृद्धि तथा मानवीय सेवामा नेपाली समुदायको योगदानलाई थप विस्तार गर्ने विषय पनि महाधिवेशनका प्राथमिकतामा रहने विश्वास गरिएको छ।
विश्वभर रहेका नेपाली रक्तदाता तथा रक्तदान अभियानमा आबद्ध सम्पूर्ण संघसंस्था, अभियन्ता र सरोकारवालाहरूको सहभागिता र सहकार्यबाट महाधिवेशन ऐतिहासिक तथा उपलब्धिमूलक हुने आयोजकको अपेक्षा रहेको छ।


