प्रधानमन्त्री वालेन्द्र शाहले संसद्मा नेपाल–भारत सीमा विवादबारे दिएको अभिव्यक्तिले नेपालको राजनीतिक र कूटनीतिक वृत्तमा ठूलो तरंग पैदा गरेको छ । यो अभिव्यक्ति शान्त तलाउमा फालिएको ढुंगाजस्तो साबित भएको छ । नेपाल–भारत सीमा विवाद दशकौंदेखिको हो । लिपुलेक, कालापानी, लिम्पियाधुरा र सुस्ता जस्ता क्षेत्रमा भारतले अतिक्रमण गर्दै आएको छ । नेपालले २०७७ मा जारी गरेको चुच्चे नक्सालाई भारतले स्वीकार गरेको छैन । यसअघि भएका उच्चस्तरीय भ्रमण र वार्ताहरूमा पनि यो मुद्दा सुल्झिएको छैन । बालेन शाहको भनाइले यो पुरानो विवादलाई फेरि सतहमा ल्याइदिएको छ । उनले नेपालले चीन र बेलायतसँग पनि यो विषयमा कुरा गरेको बताएका थिए । यसले कूटनीतिक रूपमा नयाँ बहस सुरु गरेको छ ।
भारतले भने यसलाई द्विपक्षीय विषय बनाउन चाहेको स्पष्ट सन्देश दिएको छ । बालेनको अभिव्यक्तिपछि भारतीय पक्षले नेपाल–भारत सीमा विवाद ९८ प्रतिशत समाधान भइसकेको र अब २ प्रतिशत मात्र बाँकी रहेको दाबी गरेको छ । तर, रास्वपा सभापति रवि लामिछाने र परराष्ट्रमन्त्री शिशिर खनालको भारत भ्रमणका क्रममा भारतीय अधिकारीहरूले विवादित सबै विषयमा खुला छलफल गर्न तयार रहेको संकेत दिए । यो सकारात्मक विकास हो । भारतले तेस्रो पक्षको भूमिका अस्वीकार गर्दै द्विपक्षीय संवादबाट नै समाधान खोज्ने अडान राखेको छ ।
यो अभिव्यक्तिले नेपालभित्र राजनीतिक ध्रुवीकरण पनि निम्त्याएको छ । केहीले बालेनलाई साहसी र सत्यवादी भनेका छन् भने अरूले राष्ट्रिय हितविपरीत बोलेको आरोप लगाएका छन् । विपक्षी दलहरूले यो भनाइले नेपालको दाबीलाई कमजोर बनाएको बताएका छन् । तर, वस्तुतः यो अभिव्यक्तिले लामो समयदेखि ‘शान्त तलाउ’ जस्तो बनेको सीमा मुद्दालाई छलफलको टेबलमा ल्याएको छ । अब किनारा लगाउनुपर्ने बेला भएको छ ।
सीमा समस्या समाधानका लागि द्विपक्षीय वार्ता, संयुक्त सर्वेक्षण, इतिहासकार र विशेषज्ञहरूको टोलीको भूमिका महत्वपूर्ण हुन्छ । बालेन शाहले पनि यही कुरा औंल्याएका छन्, दुवै पक्षले बस्नुपर्छ र समाधान खोज्नुपर्छ । यो तरंगले नेपालको कूटनीतिलाई चुनौती मात्र दिएको छैन, अवसर पनि दिएको छ । लामो समयदेखि रोकिएको उच्चस्तरीय संवाद पुनः सुरु भएको छ । लामिछाने र खनालको भारत भ्रमणले यसलाई थप गति दिएको छ । अब आवश्यक छ, स्पष्ट अडान, आन्तरिक एकता र व्यावहारिक कूटनीति । भावनात्मक राष्ट्रवादले मात्र होइन, प्रमाण र संवादले समस्या समाधान गर्न सकिन्छ ।
नेपाल–भारत सम्बन्ध बहुआयामिक छ । व्यापार, जलविद्युत, पर्यटन, सुरक्षा र सांस्कृतिक सम्बन्धले दुई देशलाई जोडेको छ । त्यसैले सीमा विवादलाई लम्बाइ राख्नु दुवै देशको हितमा हुँदैन । यसको छिटोभन्दा छिटो समाधान गरेर समग्र सम्बन्धलाई अगाडि बढाउनु उचित हुन्छ । भारतले द्विपक्षीय छलफल चाहेको सन्देश सकारात्मक छ । नेपालले पनि आफ्नो हित संरक्षण गर्दै खुला र रचनात्मक भूमिका खेल्नुपर्छ ।


