काठमाडौं । मलेसियाका विभिन्न आवासीय क्षेत्र तथा विदेशी नागरिकको बाक्लो उपस्थिति रहेका स्थानमा मारिएको दुईदिने छापाका क्रममा गैरकानुनी रूपमा बस्दै आएका एक हजारभन्दा बढी विदेशी नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा २२ नेपाली नागरिक पनि छन्।
मलेसियाको अंग्रेजी दैनिक ‘न्यु स्ट्रेट्स टाइ विभिन्न आवासीयम्स’का अनुसार गत अगस्ट १० र ११ देशभर कुल ३ हजार ३०७ जना विदेशी नागरिकको कागजात जाँच गरिएको थियो।
मलेसियाली अध्यागमन विभागका महानिर्देशक दातुक जकरिया शाबानले सुंगाई चुआ क्षेत्रमा रहेको एक आवासीय भवनमा मंगलबार राति गरिएको कारबाहीपछि सञ्चारकर्मीसँग कुरा गर्दै पक्राउ परेकामध्ये ८८० जना पुरुष र १६३ जना महिला रहेको जानकारी दिए। उनीहरूको उमेर १७ देखि ५९ वर्षसम्म रहेको बताइएको छ।
पक्राउ परेकामध्ये बंगलादेशी नागरिकको संख्या सबैभन्दा धेरै ४६० छ। यसमा ३६९ जना पुरुष र ९१ जना महिला रहेका छन्।
त्यसैगरी,इन्डोनेसियाका ३२८ जना, म्यानमारका १८६ जना, भारतका ५५ जना, नेपालका २२ जना तथा अन्य देशका १४३ जना नागरिक रहेका छन्।
शाबानका अनुसार सर्वसाधारणको उजुरी, अध्यागमन विभागको सूचना तथा गुप्तचर स्रोतबाट प्राप्त जानकारीका आधारमा केही आवासीय क्षेत्रलाई छापाको केन्द्र बनाइएको थियो। केही क्षेत्रमा बाक्लो संख्यामा विदेशी नागरिक गैरकानुनी रूपमा बस्दै आएको भन्दै मलेसियाली नागरिकहरूले चिन्ता व्यक्त गरेपछि अध्यागमन विभागले कानुन कार्यान्वयनलाई थप कडाइ गरेको हो।
उनले प्रधानमन्त्रीको सुझाव तथा विदेशी नागरिकको उपस्थिति क्रमशः अनियन्त्रित बन्दै गएको भन्ने सर्वसाधारणको चिन्तालाई ध्यानमा राख्दै कानुन कार्यान्वयनसम्बन्धी अभियानलाई तीव्र बनाइएको बताए।
यसैबीच, कागजातविहीन विदेशी नागरिकलाई पक्राउ तथा हिरासतबाट बच्न स्वैच्छिक स्वदेश फिर्ता कार्यक्रम सञ्चालन गर्न जकरियाले आग्रह गरेका छन्। उनका अनुसार उक्त कार्यक्रमअन्तर्गत विदेशी नागरिकले स्वेच्छाले मलेसियाली अध्यागमन विभागसमक्ष आत्मसमर्पण गरी ५०० रिङ्गिट जरिवाना तिरेर आफ्नो देश फर्किन सक्नेछन्।


