भारत र अस्ट्रेलियाबिचको अन्तिम एकदिवसीय सिरिजमा अस्ट्रेलियाले भारतलाई २१ रनले पराजित गर्दै सिरिज २-१ ले कब्जा गरेको छ। भारत घरेलु मैदानमा कुनैपनि फर्म्याटमा २६ सिरिजपछि दुई देशबिचको सिरिज पहिलो पटक गुमाउन पुगेको हो। यसअघि भारतले २४ सिरिजमा जित निकालेको थियो भने अन्य दुई सिरिज बराबरी खेलेको थियो।
फेब्रुअरी २०१९ मा अस्ट्रेलियाले १ टी-२० र ५ एकदिवसीय सिरिज ३-२ ले जितेको थियो। त्यसपछिका ७ एकदिवसीय र ६ टेस्ट सिरिज भारतले जितेको थियो। भारतले यो बिचमा १३ टी-२० सिरिजमा ११ मा जित निकाल्दा २ खेल बराबरी खेलेको थियो। यस हिसाबमा भारतले तीनै फर्म्याट मिलाएर घरेलु मैदानमा कुल २६ सिरिज पछि पहिलो श्रृंखला गुमाएको हो।
जाम्पा चम्किंदा भारत निरिह
टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलिया ४९ ओभरमा अलआउट हुँदै २६९ रनमा समेटिएको थियो। जवाफमा भारत ४९.१ ओभरमा २४८ रनमा समेटियो।
अस्ट्रेलियाका लागि मिचेल मार्सले सर्वाधिक ४७ रन बनाउँदा एलेक्स केरीले ३८ तथा ट्राभिस हेडले ३३ रन बनाए। त्यस्तै डेभिड वार्नरले २३ रन बनाउँदा मार्नुस लुबुसेनले २८ तथा मार्कुस स्टोइनिसले २५ रन जोड्दा सेन एबोटले २६ रन बनाए। पछिल्ला क्रममा ब्याटिङका लागि आएका एस्टोन एघरले १७ र मिचेल स्ट्र्क तथा एडम जाम्पाले समान १०-१० रन बनाएका थिए। ब्याटिङमा सबै खेलाडीले योगदान दिएपनि बलिङमा भने जाम्पा सामू भारत निरीह बनेको थियो। भारतका लागि भने हार्दीक पाण्ड्या र कुलदिप यादवले समान ३-३ वेकट लिंदा मोहम्मद सिराज र अक्षर पटेलले समान २-२ विकेट लिए।
२ सय ७० रनको लक्ष्य लिएर मैदानमा उत्रिएको भारतले राम्रो सुरुवातका बाबजुत पछिल्लो क्रमा समालिन नसक्दा हार भोग्यो। विराट कोहलीले ५४ रन बनाउँदा हार्दीक पाण्ड्याले ४० रन बनाए। त्यस्तै कप्तान रोहित शर्माले ३० तथा शुभमन गिलले ३७ रन बनाएका थिए। त्यस्तै रविन्द्र जडेजाले १८ र मोहम्मद सामीले १४ रन जोडे। अस्ट्रेलियाका लागि एडम जाम्पाले १० ओभर बलिङ गर्दै ४५ रन खर्चिएर ४ विकेट लिए। त्यस्तै एस्टोन एगरले २ र मार्कुस स्टोइनिस र सेन एबोटले समान १-१ विकेट लिए।
सूर्य ‘ब्याटिङ ह्याट्रिक’ बनाउने पहिलो भारतीय
भारतका ब्याटर सूर्यकुमार यादवले लगातार तेस्रो एकदिवसीय खेलमा गोल्डेन डकआउट भए। उनी पहिलो र दोस्रो एकदिवसीयमा मिचेल स्टार्कको बलमा एलबिडब्लुको सिकार भएका थिए। भने तेस्रो खेलमा एगरको बलमा बोल्ड भएका थिए। सूर्या ‘ब्याटिङ ह्याट्रिक’ बनाउने विश्वका १३ औ खेलाडी बने। जब कुनै ब्याटर लगातार तीन इनिङमा पहिलो बलमानै शुन्य रनमा आउट हुन्छ, त्यसलाई ब्याटिङ ह्याट्रिक भनिन्छ।
सूर्यकुमार भन्दा अगाडी भारतका सचिन तेन्दुलकर, अनिल कुम्बले, जाहिर खान, इशान्त शर्मा र जसप्रित बुम्राह पनि लगातार तीन खेलमा शून्य रनमा आउट भएपनि पहिलो बलमानै आउट हुने सूर्य भने पहिलो खेलाडी बने।


