काठमाडौं । साविक विजेता लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) पहिलो संस्करणको जिजेता जनकपुर बोल्ट्सलाई १५० रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४९ रन बनाएको हो ।
आसिफ शेख र दिलीप नाथले समान २१ रन जोड्दा शामिन हुसेनले १३ रन बनाए । ओपनर डार्शी सर्ट खेलको पहिलो बलमै आउट भएका थिए ।
रुबेन ट्रम्पलम्यानले ८ बल खेल्दै २ छक्का मदतमा १५ रन बनाए । आठौं नम्बरमा ब्याटिङमा आएका सन्दीप जोरा ९ रन बनाएर आउट भए ।
१७ ओभर स्पीनबाट बलिङ गराएको जनकपुरका लागि स्पीनरले ४ विकेट लिंदा पेसरले ३ विकेट लिएका थिए । १६औं ओभरपछि लगातार ३ ओभर मात्र पेस बलिङ गरेको जनकपुरका लागि अभिषेक तिवारी र राहुल यादवले ३ विकेट लिए । अन्तिम ओभर स्पीनरले नै बलिङ गरेका थिए ।
जनकपुरका विशाल सुशलिङ र राहुल २-२ विकेट लिए । विशालले ४ ओभरमा २१ र राहुलले २ ओभरमा १७ रन खर्चिए । कप्तान हर्मीत सिंह, ललित राजवंशी र अभिषेक तिवारीले १-१ विकेट लिए । सुरुवाती दुई खेलमा लुम्बिनीले विपक्षीलाई क्रमश: ८७ र ९७ रनमा अलआउट गर्दा ब्याटिङमा खासै मिहिनेत गर्नुपरेको थिएन ।
पोखराविरुद्धको जितपछि लुम्बिनीका कप्तान रोहित पौडेलले ब्याटिङमा खासै टेष्ट नभएको जनाएका थिए । तर, जनकपुरविरुद्धको खेलमा भने पहिलो बलदेखि नै विकेट गुमाएको लुम्बिनीका १० खेलाडी ब्याटिङमा लागि क्रिज पुग्नुपरेको थियो ।


