–निमकान्त पाण्डे
नेपालको कम्युनिष्ट आन्दोलनको गौरवशाली इतिहास बोकेको नेकपा एमाले पार्टी आज आफ्नै नेतृत्वको अहंकार, भ्रष्टाचारप्रतिको उदासीनता र अधिनायकवादी शैलीको कारण इतिहासकै सबैभन्दा गम्भीर संकटमा परेको छ । गत वर्षसम्म सरकारको नेतृत्व गर्दै शक्तिशाली बन्न सफल भएको यो पार्टी अहिले सानो दलमा खुम्चिएको छ । अध्यक्ष केपी शर्मा ओलीको प्रभाव पनि दिनप्रतिदिन घट्दै गएको स्पष्ट देखिन्छ । जनताले दिएको मत र विश्वास गुमाएपछि अब पार्टीका नेताहरु पश्चातापको घडीमा पुगेका छन् । तर यो पश्चातापले पार्टी बचाउँछ कि इतिहासमा मात्र सीमित बनाउँछ, त्यो भने आगामी दिनहरुले निर्धारण गर्नेछ ।
एमालेको वर्तमान अवनतिको मुख्य कारण अध्यक्ष ओलीको एकलौटी नेतृत्व शैली हो । पार्टीभित्र वैचारिक बहस, आन्तरिक लोकतन्त्र र विविधतालाई पूर्ण रूपमा निषेध गरियो । ओलीलाई नै सर्वेसर्वा बनाइयो । जसले गर्दा पार्टीका पुराना र अनुभवी नेताहरु समेत असन्तुष्ट बन्न पुगे । एक व्यक्तिको इच्छा र निर्णयलाई नै पार्टीको नीति बनाइयो । यसले पार्टीको सामूहिक बुद्धिमत्तालाई नष्ट ग¥यो र गुटगत राजनीतिलाई बढावा दियो । फलस्वरूप पार्टी छिन्नभिन्न भयो ।
विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरणमा रोक्ने प्रयास यसको ज्वलन्त उदाहरण हो । भण्डारी पूर्वराष्ट्रपति र लामो समय पार्टीको महत्वपूर्ण नेता रहेकी थिइन् । उनको सदस्यता प्रकरणलाई लिएर पार्टीभित्र ठूलो बहस भयो । गुटगत स्वार्थले गर्दा पार्टीको छवि धुमिल भयो । अहिले जब पार्टी सक्किने अवस्थामा पुगेको छ, तब मात्र ओलीले भण्डारीको सदस्यता नवीकरण गरेका छन् । यो निर्णय सच्चिनुभन्दा पनि विवशताको उपज जस्तो देखिन्छ । यदि समयमै यो समस्या समाधान गरिएको भए पार्टीभित्रको विभाजन यति गहिरो नहुन सक्थ्यो ।
सरकार सञ्चालनका क्रममा पनि एमाले नेतृत्वले देश र जनताको मुद्दाभन्दा बिचौलिया र व्यक्तिगत स्वार्थलाई प्राथमिकता दियो । प्रधानमन्त्रीको रूपमा ओलीले पटक–पटक ‘भ्रष्टाचारीको मुख हेर्दिनँ’ भन्ने घोषणा गरेका थिए । तर व्यवहार ठीक उल्टो भयो । ठूला–ठूला भ्रष्टाचारका काण्ड सार्वजनिक भए । एमालेका मन्त्री र नेताहरु संलग्न रहेका यस्ता काण्डमा कारबाहीको साटो संरक्षण दिइयो । भ्रष्टाचारका अनन्त श्रृंखलाले पार्टीको छवि पूर्ण रूपमा बिगारेको छ । जनताले महसुस गरे कि यो पार्टी अब उनीहरुको सेवा गर्न होइन, आसेपासे र बिचौलियाको सेवा गर्न आएको छ ।
वामपन्थी एकताको कुरा पनि एमाले नेतृत्वले केवल नारामा मात्र सीमित राख्यो । अन्य वामपन्थी दलहरुसँग मिलेर पार्टीलाई अझ बलियो र जनताको सेवक बनाउने अवसर थियो । तर व्यक्तिगत स्वार्थ र सत्ताको लोभले त्यसलाई सम्भव हुन दिएन । फलस्वरूप वाम शक्तिहरु विभाजित रहे र उनीहरुको सामूहिक शक्ति कमजोर भयो । जनताले वामपन्थीहरुलाई एकै ठाउँमा देख्न चाहेका थिए, तर नेतृत्वले त्यो चाहनालाई बेवास्ता ग¥यो ।
पार्टीको यो अवनतिको सबैभन्दा ठूलो प्रमाण हो, जनविश्वासको ह्रास । गत जेनजी विद्रोह र त्यसपछिको चुनावी नतिजाले स्पष्ट रूपमा देखाएको छ कि एमालेले आफ्नो आधारभूत मतदाता र युवा वर्गलाई गुमाइसकेको छ । युवाले पार्टीको पुरानो शैली, अहंकार र जनमुखी नीतिबाट विचलन भएको महसुस गरेका छन् । उनीहरुले परिवर्तन चाहेका थिए, तर पार्टीले पुरानै ढर्रालाई दोहो¥याइरह्यो । अध्यक्ष ओली र उनी वरपरका नेताहरुको अहंकार र अधिनायकवादी सोच नै यो संकटको जड हो । उनीहरुले आफूलाई अपरिहार्य ठाने । आलोचना सुन्ने क्षमता गुमाए । पार्टीभित्रका असन्तुष्ट स्वरहरुलाई दबाउने प्रयास गरियो । यसले गर्दा पार्टीभित्र स्वस्थ आलोचना र सुधारको वातावरण बन्न सकेन । गौरवशाली इतिहास बोकेको एमाले जस्तो पार्टी आज सानो दलको रूपमा खुम्चिनु दुःखद कुरा हो ।
अब प्रश्न उठ्छ – के यो संकटबाट एमाले माथि उठ्न सक्छ ? यो संकटलाई अवसरमा बदल्नका लागि पार्टी नेतृत्वले तत्काल आत्मसमीक्षा गर्नुपर्छ । ओलीलगायत सम्पूर्ण नेताहरुले आफ्नो कार्यशैलीमा आमूल परिवर्तन ल्याउनुपर्छ । पार्टीभित्र आन्तरिक लोकतन्त्रको अभ्यास गर्नुपर्छ । वैचारिक बहसलाई प्रोत्साहन दिनुपर्छ । युवा नेतृत्वलाई महत्वपूर्ण जिम्मेवारी दिनुपर्छ । जनताका मुद्दा प्राथमिकतामा राख्नुपर्छ । बिचौलिया र भ्रष्ट तत्वहरुसँगको सम्बन्ध तोड्नुपर्छ । अन्य वामपन्थी शक्तिहरुसँगको एकतालाई सार्थक बनाउनुपर्छ । जनताको भावना बुझ्ने र उनीहरुको बीचमा गएर काम गर्ने संस्कृति विकास गर्नुपर्छ ।
यदि यी कदमहरु चालिएन भने एमाले पार्टी इतिहासमा मात्र सीमित हुने खतरा छ । युवा पुस्ताले वैकल्पिक शक्तिको खोजी गरिसकेका छन् । एमालेले आफूलाई समय अनुसार परिवर्तन गर्न सकेन भने उनीहरुले नयाँ विकल्प रोज्नेछन् । पश्चातापको यो घडीमा एमाले नेताहरुले इतिहासबाट पाठ सिक्नुपर्छ । शक्ति र सत्ताको अस्थायी मातलाई स्थायी ठान्नु हुँदैन । जनताको विश्वास नै सबैभन्दा ठूलो शक्ति हो । त्यो गुमेपछि जति पनि अहंकार देखाए पनि केही लाग्दैन । ओली र उनीसँगै रहेका नेताहरुले आफ्नो अहंकार त्यागेर पार्टीको हितमा सोच्नुपर्छ । युवा नेतृत्वलाई अवसर दिनुपर्छ । पार्टीको पुनर्निर्माण गर्नुपर्छ । यदि यो गर्न सके भने एमाले फेरि उभिन सक्छ, नत्र इतिहासको पानामा मात्र ‘एक समय थियो’ भन्ने वाक्यांशमा सीमित हुनेछ । जनधारणा साप्ताहिक


