–निमकान्त पाण्डे
लामो समयदेखि नसुल्झिएको नेपाल–भारत सीमासम्बन्धी विवाद अहिले फेरि चर्किएको छ । लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्रलाई लिएर दुई देशबीचको मतभेद पटक–पटक सतहमा आउने गरेको छ । यो विवाद पुनः उब्जिनुको मुख्य कारण भारत र चीनले नेपालसँग पर्याप्त परामर्श नगरी नेपाली भूमि लिपुलेकबाट मानसरोवर यात्रा तथा व्यापार व्यवसाय सञ्चालन गर्ने निर्णय हो । नेपालले आफ्नो सार्वभौमिकताको रक्षा गर्दै यसको विरोध गरेको छ ।
लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूभाग हुन् भन्ने नेपालको दाबी ऐतिहासिक प्रमाण र सुगौली सन्धिमा आधारित छ । तर भारतले लामो समयदेखि यी क्षेत्रमा अतिक्रमण गर्दै आएको छ । सन् २०२० मा नेपालले जारी गरेको नयाँ नक्सापछि यो विवाद थप तीव्र बनेको थियो । यसबीच वालेन्द्र शाह (बालेन) को नेतृत्वमा नयाँ सरकार गठन भएपछि नेपालले आफ्नो भूभागको अतिक्रमणविरुद्ध निरन्तर कूटनीतिक कदम चालिरहेको छ ।
प्रधानमन्त्री बालेन शाहले संसद्मा नेपाल–भारत सीमा विवादबारे दिएको अभिव्यक्तिले दुवै देशमा ठूलो चर्चा पाएको छ । यो भनाइले नेपालभित्र राजनीतिक हंगामा निम्त्याए पनि भारतमा पनि व्यापक छलफल सुरु ग¥यो । यसले सीमा समस्या समाधानका लागि द्विपक्षीय संवादको ढोका खोलिदिएको देखिन्छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र परराष्ट्रमन्त्री शिशिर खनालको हालैको भारत भ्रमणले यो प्रक्रियालाई थप गति दिएको छ । भ्रमणका क्रममा सीमा विवादको विषय प्रमुख रूपमा उठेको थियो । नेपाल सरकारले छिटोभन्दा छिटो यो समस्या समाधान गर्न भारतसँग आग्रह गरेको छ । भारतीय पक्ष पनि यसमा सकारात्मक देखिएको छ । यो नयाँ सरकारको सराहनीय कदम हो, जसले लामो समयदेखि अल्झिएको मुद्दालाई संवादको टेबलमा ल्याएको छ ।
अघिल्ला नेपाली नेताहरूले देशभित्र राष्ट्रियताको भाव देखाए पनि भारत भ्रमणमा गएर सीमा विवादमा स्पष्ट अडान राख्न सकेका थिएनन् । यसले भारतीय पक्षलाई अटेर गर्न सजिलो बनाएको थियो । तर यसपालि रवि लामिछाने र शिशिर खनालले भारतमै गएर यो संवेदनशील विषय उठाउनु सकारात्मक पक्ष हो । यसले नेपालको कूटनीतिक परिपक्वता देखाएको छ । परराष्ट्रमन्त्री शिशिर खनालले नयाँ दिल्लीमा भारतीय पत्रकारहरूसँग गरेको संक्षिप्त वार्ता र अभिव्यक्तिले विशेष महत्व पाएको छ । उनले ‘हामी एउटै नदीका सन्तान हौं, खुला मनले बस्दा कुनै समस्या ठूलो हुँदैन, सीमा जटिल हुँदैन’ भन्दै नेपालले भारतलाई खुला हृदय, स्पष्ट दृष्टि र पारदर्शी एजेन्डाका साथ हेरेको बताए । उनले आर्थिक रूपान्तरण र द्विपक्षीय सहकारितामा जोड दिए ।
यी घटनाक्रम र खनालको अभिव्यक्तिलाई लिएर भारतीय सञ्चारमाध्यमले व्यापक कभरेज दिएका छन् । नवभारत टाइम्स, दैनिक जागरण, आज तक जस्ता प्रमुख भारतीय मिडियाले खनालको भ्रमण र सीमा विवादको विषयलाई प्रमुखताका साथ प्रकाशित गरे । उनीहरूले नेपालको अडानलाई प्राथमिकता दिई द्विपक्षीय संवादबाट समाधान खोज्ने सन्देशलाई सकारात्मक रूपमा प्रस्तुत गरेका छन् । यसबाट स्पष्ट हुन्छ कि सीमा विवाद समाधानका लागि भारतीय सञ्चारमाध्यमहरू पनि नेपालको पक्षमा देखिएका छन् । उनीहरूले दुई देशबीचको सम्बन्धलाई सुमधुर बनाउने र आर्थिक सहकारितालाई अगाडि बढाउने कुरालाई जोड दिएका छन् ।
यो कभरेजले देखाउँछ कि भारतीय मिडियाले नेपालको नयाँ सरकारको प्रयासलाई स्वागत गरेको छ । लामो समयदेखि अल्झिएको विवादलाई भावनात्मक होइन, व्यावहारिक र प्रमाणमा आधारित समाधान खोज्ने दिशामा भारतीय मिडियाको भूमिका सकारात्मक छ । उनीहरूले तेस्रो पक्षको भूमिकालाई अस्वीकार गर्दै द्विपक्षीय संवादलाई जोड दिएका छन्, जुन नेपालको हितमा पनि छ । रवि लामिछाने र शिशिर खनालको भ्रमणले संवादको जुन ढोका खुलेको छ, त्यसलाई निरन्तरता दिनु आवश्यक छ । यसमा भारतीय पक्षले पनि ध्यान दिनुपर्छ । नियमित संयुक्त सर्वेक्षण, ऐतिहासिक प्रमाणको अध्ययन र उच्चस्तरीय वार्तामार्फत लिम्पियाधुरा, लिपुलेक र कालापानीको समस्या चाँडो समाधान गर्न सकिन्छ ।
नेपाल र भारत दुवै देशका आ–आफ्ना थुप्रै चुनौती छन् । सीमा विवादजस्ता विषयमा अल्झिँदा विकास, व्यापार, जलविद्युत, पर्यटन र सांस्कृतिक सम्बन्धका अवसरहरू छुटिरहेका छन् । दक्षिण एसियाली देशहरूबीचको सहकारिताले मात्र क्षेत्रीय प्रगति सम्भव छ । सीमा समस्या समाधान गरेर दुवै देश आ–आफ्नो विकासमा लाग्नु सबैका लागि हितकारी हुनेछ । बालेन शाहको सरकारले कूटनीतिक रूपमा सक्रियता देखाएको छ । भारतीय सञ्चारमाध्यमको सकारात्मक कभरेजले यो प्रयासलाई थप बल दिएको छ । अब आवश्यक छ, निरन्तर संवाद, आन्तरिक एकता र राष्ट्रिय हितलाई केन्द्रमा राखेर व्यावहारिक समाधान खोज्ने । दुवै देशका जनता र सरकारबीचको समझदारीले मात्र यो विवादलाई इतिहास बनाउन सकिन्छ ।
नेपाल–भारत सम्बन्ध बहुआयामिक छ । सीमाको मुद्दालाई एउटा मुद्दामा सीमित राखेर समग्र सहकारितालाई अगाडि बढाउनु दुवै पक्षको साझा हित हो । भारतीय मिडियाको नेपालप्रतिको सकारात्मक दृष्टिकोणले यो प्रक्रियालाई सहज बनाउने विश्वास गर्न सकिन्छ । अब समय हो, शान्त तलाउमा उठेको छाललाई किनारामा पु¥याउने र दिगो समाधान निकाल्ने । जनधारणा साप्ताहिक


