काठमाडौं । कपिलवस्तु, शिवराज नगरपालिका-५ खैरीस्थित सडकमा बा.९ च ९६२० नम्बरको गाडीको ठक्करबाट पैदलयात्री नुवाकोट ककनी गाउँपालिका-२ बस्ने ३५ वर्षीय प्रकाश पुडासैनीको बिहीबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको आधारभूत स्वास्थ्य सेवा अस्पताल चन्द्रौटामा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले हाल फरार गाडी चालकको खोजी गरिरहेको छ ।
दाङ, घोराही उपमहानगरपालिका-१० सौडिकुलास्थित सडकमा घोराहीबाट नारायणपुरतर्फ जाँदै गरेको रा.२ प ७२६५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही उपमहानगपालिका-१० बस्ने ३२ वर्षीय बेल बहादुर पुनको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएको मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।
यसैगरी दाङ, घोराही उपमहानगरपालिका-१३ कलंघारीस्थित सडकमा दुईखोलीबाट घोराहीतर्फ आउँदै गरेको रा.१ क १२९३ नम्बरको टिपरको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ५२ वर्षीया ज्योती पुनको घटनास्थलमै मृत्यु भएको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कैलाली, धनगढी उपमहानगरपालिका-७ जोखरताल पुल नजिक सडकमा सु.प.प्र.०१-००११ प १३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई गए राति दुर्घटना हुँदा चालक सोही उपमहानगरपालिका-१७ पथरी बस्ने २५ वर्षीय महेश चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको निसर्ग अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
चितवन, भरतपुर महानगरपालिका-११ बर्मेलीचोकस्थित सडकमा अनटेष्ट लेखिएको कारको ठक्करबाट साइकलयात्री सोही महानगरपालिका-११ बस्ने ४७ वर्षीया नारायणी रेग्मीको गए राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले कार चालकलाई नियन्त्रणमा लिएको छ ।
रूपन्देही, मायादेवी गाउँपालिका-५ गुरबनियास्थित सडकमा लु.३५ प ८८७१ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ७५ वर्षीय बसन्त पालको बिहीबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


