काठमाडौं । छिपछिपे सहकारीको १६ करोड ठगी प्रकरणमा डेढ वर्षदेखि फरार रहेकी राप्रपाकी सांसद गिता बस्नेत अदालत उपस्थित भएकै दिन १५ लाख धरौटीमा छुटेकी छिन् ।
पूर्वी नवलपरासीको कावासोतीस्थित छिपछिपे सहकारीका तीन हजार बचतकर्ताको १६ करोड ५६ लाख ९४० रुपैयाँ ठगीको आरोप लागेपछि प्रहरीले उनीसहित ३५ जनामाथि अनुसन्धान सुरु गरेको थियो । अनुसन्धान सुरु भएलगत्तै सांसद बस्नेत फरार भएकी थिइन् ।
बुधबार नवलपुर जिल्ला अदालतमा उपस्थित भएकी उनको जिल्ला न्यायाधीश कमलप्रसाद ज्ञवालीको इजलासमा थुनछेक भएको थियो । अदालतमा हाजिर भएकै दिनको बयान, थुनछेक र आदेश भएका छ । जिल्ला अदालत नवलपुरका स्रेस्तेदार प्रेमप्रसाद पौडेलका अनुसार न्यायाधीश ज्ञवालीको इजलासले उनलाई १५ लाख धरौटीमा छाड्न आदेश दिएको थियो । त्यसलगत्तै १५ लाख बैंक ग्यारेण्टी बुझाएर उनी रिहा भएकी छिन् ।
बस्नेतले सहकारीको रकम आफू सञ्चालक रहेको कृष्णसार रिर्सोटमा विना धितो लगानी गरेकी थिइन् । उनीमाथि चितवनको सनराइज सहकारी ठगीमा पनि मुद्दा दायर भएको छ । उक्त मुद्दामा पनि उनी फरार रहेकी छिन् । सनराइज सहकारीको करोडौँ रकम समेत रिसोर्टमा लगानी गरेको अभियोग उनीमाथि छ ।
छिपछिपे सहकारीका अध्यक्ष योगेन्द्र पाण्डेले दिएको बयान अनुसार बस्नेत, सहकारीका सचिव समेत रहेका बस्नेतका ज्वाई नगेन्द्र रिमाल, सञ्जीवकुमार महातो र स्यमं उनकै योजनामा सहकारीको रकम रिसोर्टमा लगानी गरेको उल्लेख गरेका छन् ।
डेढ वर्षसम्म फरार रहेकी उनी संसदमा भने विरामी विदा लिएर मासिक सेवा सुविध बुझ्दै आएकी छिन् ।


