काठमाडौं । असोज ४ गतेदेखि १५ गतेसम्म काठमाडौँ र ललितपुरका विभिन्न क्षेत्रमा विद्युत आपूर्ति बन्द हुने भएको छ ।
नेपाल विद्युत प्राधिकरणले सोमबार सूचना जारी गर्दै टेकु सबस्टेशनमा मर्मत सम्भार तथा स्तरोन्नतिका कार्यहरू गर्नका लागि विद्युत आपूर्ति बन्द हुने जानकारी गराएको हो ।
प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालय अन्तर्गत सञ्चालित लप्सीफेदी तथा चाँगुनारायण सबस्टेशन निर्माण आयोजना अन्तर्गत टेकु सबस्टेशनको ११ के.भी. प्यानलमा नयाँ रिले रेट्रोफिट गर्ने, एसएएस जडान तथा परीक्षण कार्य गर्नु परेकाले विद्युत आपूर्ति अवरुद्ध हुन लागेको छ ।
प्राधिकरणका अनुसार असोज ४ देखि १५ गतेसम्म विभिन्न फिडर अन्तर्गत पर्ने रत्नपार्क, पुल्चोक, कुलेश्वर र कीर्तिपुर वितरण केन्द्र मातहतका क्षेत्रहरूमा तोकिएको दिन र समयमा बत्ती जानेछ ।
प्राधिकरणले निर्धारित समयअगावै मर्मत कार्य सम्पन्न भएमा तोकिएको समयभन्दा अगाडि नै विद्युत सेवा सुचारु गरिने जनाएको छ । तर, सटडाउनको अवधिमा कुनै अप्रत्याशित प्राविधिक समस्या आएमा तालिकामा आवश्यक अनुसार परिमार्जन हुन सक्ने स्पष्ट पारिएको छ । विद्युत आपूर्ति बन्द हुँदा ग्राहकवर्गमा पर्न जाने असुविधाप्रति प्राधिकरणले क्षमायाचना पनि गरेको छ ।
कुन क्षेत्र कहिले प्रभावित हुनेछन्?
१. रत्नपार्क वितरण केन्द्र (सुन्धारा-१, सुन्धारा-२, मिन्ट, कालिमाटी, भीमसेनस्थान, क्षेत्रपाटी, त्रिपुरेश्वर फिडर):
असोज ४ र ५ गते (रातको ११:०० देखि ५ गते बिहान २:०० सम्म): न्यूरोड, धरहरा, दशरथ रंगशाला, सुन्धारा, भोटेबहाल, खिचापोखरी, झोंछे, हनुमानढोका, वसन्तपुर, लगन चोक, ओमबहाल आसपासका क्षेत्रहरू।
असोज ६ र ७ गते (बिहान २:०० देखि ५:०० सम्म): न्यूरोड, धरहरा, दशरथ रंगशाला, सुन्धारा, भोटेबहाल, खिचापोखरी, झोंछे, हनुमानढोका, वसन्तपुर लगायतका क्षेत्रहरू।
असोज ८ र ९ गते (रातको ११:०० देखि ९ गते बिहान २:०० सम्म): टेकु स्वास्थ्य सेवा विभाग कम्पाउन्ड एरिया।
असोज ९ र १० गते (बिहान २:०० देखि ५:०० सम्म): टेकु प्रहरी परिसर, फोहेरमैला, टेकु चोक, परोपकार, रामघाट, कंकेश्वरी, नरदेवी, असन, इन्द्रचोक लगायतका क्षेत्रहरू।
असोज ९ देखि ११ गतेसम्म (रातको ११:०० देखि २:०० सम्म): १२ नं. र २१ नं. वडा कार्यालय, सरस्वती स्कूल, ब्राण्डटोल, हुमत, जैसिदेवल, भीमसेनस्थान आसपासका क्षेत्रहरू।
असोज १० देखि १२ गते (बिहान २:०० देखि ५:०० सम्म): क्षेत्रपाटी, मयलबारी, ढल्कु, कालधारा, धोबीचौर, पकनाजोल, ठहिटी, कुवाहल लगायतका क्षेत्रहरू।
असोज ११ देखि १३ गतेसम्म (रातको ११:०० देखि २:०० सम्म): टेकु सबस्टेशन, बंसीघाट, विश्वनिकेतन स्कूल, टेकु चोकदेखि त्रिपुरेश्वर चोकसम्मका क्षेत्रहरू।
२. पुल्चोक वितरण केन्द्र (पुल्चोक, बागमती, रिंगरोड, भैंसेपाटी, थापाथली फिडर):
असोज ५ र ६ गते (रातको ११:०० देखि ६ गते बिहान २:०० सम्म): बल्खु हेल्प पोष्ट, सानेपा चोक, झम्सीखेल, पुल्चोक, प्रधान सेनापति क्वार्टर, हरिहर भवन आसपासका क्षेत्रहरू।
असोज ६ र ७ गते (रातको ११:०० देखि ७ गते बिहान २:०० सम्म): सानेपा राम मन्दिर, गुसिङ्गाल, एडभान्स कलेज, सानेपा, रेडियण्ट स्कूल आसपासका क्षेत्रहरू।
असोज ७ र ८ गते (बिहान २:०० देखि ५:०० सम्म): नखु चोक, बागडोल, धोविघाट, मलपोखरी, सनराइज टावर, आफल्डोल लगायतका क्षेत्रहरू।
असोज ७ र ८ गते (रातको ११:०० देखि ८ गते बिहान २:०० सम्म): भैंसेपाटी, गणेश मन्दिर, सिद्धिविनायक टोल, मन्जुश्री मार्ग आसपासका क्षेत्रहरू।
असोज ८ र ९ गते (बिहान २:०० देखि ५:०० सम्म): थापाथली चोक, नर्भिक हस्पिटल, प्रसुति गृह, राष्ट्र बैंक, बबरमहल, कुरिया गाउँ लगायतका क्षेत्रहरू।
३. कुलेश्वर र कीर्तिपुर वितरण केन्द्र (चःमती, ताहाचल, कीर्तिपुर, कुलेश्वर फिडर):
असोज १२ र १३ गते (बिहान २:०० देखि ५:०० सम्म): कालिमाटी पुल, परोपकार, टंकेश्वर, ढल्लु, बिजेश्वरी, चःमती, भगवानपाउ लगायतका क्षेत्रहरू।
असोज १२ र १३ गते (रातको ११:०० देखि १३/१४ गते बिहान २:०० सम्म): ताहाचल, कालिमाटी, काराखुसी पुल, साल्ट ट्रेडिङ्ग, सीता पेट्रोल पम्प, महेन्द्र रत्न क्याम्पस, छागल लगायतका क्षेत्रहरू।
असोज १३ र १४ गते (बिहान २:०० देखि ५:०० सम्म): कीर्तिपुर, वयधा, बल्खु, कुमारी क्लब, चोभार, भाजंगल, पाङ्गा शालिक, टौदह, त्रि.वि. परिसर लगायतका क्षेत्रहरू।
असोज १३ र १४ गते (रातको ११:०० देखि १४/१५ गते बिहान २:०० सम्म): कुलेश्वर, प्राधिकरण मार्ग, सुनारगाउँ, माछा गेट, रविभवन, सोल्टीमोड, छाउनी, टेलिकम, आर्मी हस्पिटल आसपासका क्षेत्रहरू।


