दाङ । प्रेस चौतारी नेपाल दाङ शाखाका कोषाध्यक्ष चन्द्रप्रकाश नेपालीलाई आज विदाई गरिएको छ ।
बैदेशिक रोजगारीका लागि कोरिया जान लागेका नेपालीलाई चौतारीले आज घोराहीमा एक कार्यक्रमको आयोजना गरी प्रशंसापत्र र खादा ओडाएर विदाई गरेको हो । प्रेस चौतारी दाङका उपाध्यक्ष विमल योगीको अध्यक्षता तथा नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवम् घोराही उप महानगरपालिकाका मेयर नरुलाल चौधरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा उहाँलाई विदाई गरिएको हो ।
विदाई कार्यक्रममा बोल्ने बक्ताहरुले संगठनलाई सशक्त र क्रियाशिल बनाउन नेपालीले महत्वपूर्ण भूमिका खेलेको भन्दै बैदेशिक रोजगारीमा पनि सफलता मिलोस भनि कामना गरेका थिए । सो अवसरमा बोल्दै प्रमुख अतिथि चौधरीले क्षमतावान युवाहरु विदेश पलायन हुनु दुखको कुरा भएपनि व्यक्तीगत तथा पारिवारिक अवस्था सुधारका लागि रोजगारीमा जानुपर्ने बाध्यता रहेको बताउनुभयो ।
स्वदेशमा केही गर्न चाहने युवाहरुका लागि उप महानगरले सकेजति लगानी गरिरहेको भन्दै उहाँले विदेशमा सिकेका नविनतम सिपहरुको प्रयोग गरी आर्थिक सम्वृद्धि हासिल गर्न सकिने बताउनुभयो । यस्तै विदाई भएर जान लागेका नेपालीले आफ्नो बिदेश जाने चाहाना नभएपनि पारिवारिक अवस्था सुधारका लागि जान बाध्य भएको भन्दै कोरियामा सिकेको सिप नेपालमा प्रयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । नेपालमा रहदा बिभिन्न सञ्चार माध्यम र प्रेस चौतारीले धेरै कुरा सिकाएको भन्दै उहाँले संगठनको गरिमा बचाउन बिदेश रहेर पनि सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्दीय सचिव सविन प्रियासन,प्रेस नेपालका सचिवालय सदस्य एवम् लुम्विनी प्रदेश इञ्चार्ज टीका वस्नेत,चौतारीका केन्द्रिय सदस्य एवम् दाङ जिल्ला इञ्चार्ज दुर्गालाल केसी,नेपका एमाले दाङका प्रचार बिभाग सचिव किरण गौतम,घोराही उप महानगरपालिका वडा नम्वर १४ का अध्यक्ष भानसिंह बुढाले लगायतले नेपालीको कोरिया यात्रा सफलताको शुभकामना व्यक्त गरेका थिए । विदाई कार्यक्रमको सञ्चालन प्रेस चौतारी दाङका सचिव निमुसंगम घर्तिले गर्नुभएको थियो । विमल योगी


