नेपालको वर्तमान राजनीतिक परिदृश्यमा दलहरूप्रति जनताको वितृष्णा तीव्र रुपमा बढ्दो छ । वर्षौंदेखि सत्ता र संस्थामा बस्दै आएका ठूला दलहरू नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्र लगायतका शक्तिहरूको व्यवहार, चरित्र र कार्यशैली अझै संक्रमणकालीन सोचबाट बाहिरिएको देखिँदैन । जबकि जनताले पटक–पटक तिनै दलहरूलाई बहुमत दिएर सत्तामा पु¥याए पनि उनीहरूले जनआकांक्षाको प्रतिनिधित्व गर्न सकेका छैनन् । यही असफलताबाट असन्तुष्ट भएर जनताले नयाँ शक्तिको खोजी गरेका छन्, जसको पछिल्लो उदाहरण हो, रास्वपालगायतका वैकल्पिक दलहरूको उदय ।
पुराना दलहरू आफैंभित्रको संकट, नेतृत्वको अकर्मण्यता र वैचारिक दिशाविहीनताको शिकार भइरहेका छन् । कांग्रेसभित्र पुरानै गुटबन्दीले पार्टी चलिरहेको छ भने एमालेभित्र केपी शर्मा ओलीको एकल प्रभुत्वमाथि गम्भीर आलोचना भइरहेको छ । माओवादी केन्द्रको अवस्था झनै अन्योलग्रस्त छ । युद्धकालीन मुद्दा, आदर्श र व्यवहारबीचको दूरीले उसलाई ‘अहिलेसम्म सत्तामा छँदा पनि विकल्प देखिन नसक्ने’ बनाएको छ । यी सबै पक्षहरूले दलहरुप्रति जनताको विश्वास क्रमशः खस्किरहेको छ । तर, पुराना दलका नेताहरु यसलाई मान्न तयार छैनन् ।
हालै एक सार्वजनिक कार्यक्रममा कांग्रेसका महामन्त्री गगन कुमार थापाले पुरानो सबै थोत्रो र मूल्यहीन भन्ने निर्माण गर्न खोजिएको नकारात्मक भाष्यबाट कांग्रेस निस्कनुपर्ने बताएका छन् । आफ्नो पार्टी पुरानो भएकोमा गौरव राख्दै नयाँ कुरालाई सिक्न तयार रहेको उनले बताए । ‘पुरानो भनेको थोत्रो, पुरानो भनेको खराब, पुरानो हुनु भनेको सबैभन्दा मूल्यहीन भन्ने ढंगबाट समाजमा जबरजस्त नकारात्मक भाष्य स्थापित गर्न खोजिदै छ, त्यसबाट नेपाली कांग्रेस पार्टी निस्केर आउन पर्नेछ’, थापाले भने ।
गर्व गर्ने विषयमा असहमत हुन सक्ने अवस्था हुँदा हुँदै पनि नयाँ कुरा सिक्न र नयाँ हुन आवश्यक रहेको विषयमा भने थापाको भनाइमा सहमत हुन सकिन्छ । जसलाई पुराना दलले पनि आत्मसात् गर्न जरुरी छ । अहिलेको अवस्थामा ठूला दलहरूको जिम्मेवारी थप बढेको छ — आफ्ना संगठन, सोच र संरचनामा सुधार गर्दै समयको माग अनुसार आफूलाई नयाँ बनाउने । केवल नयाँ अनुहार भित्र्याउनु वा प्रविधिमा सक्रियता देखाउनुले मात्र ‘नयाँ’ बन्न सकिँदैन, आवश्यक छ आन्तरिक लोकतन्त्रको अभ्यास, जवाफदेहिताको सुनिश्चितता, पारदर्शिता र नवप्रवर्तनशील राजनीतिक सोचको स्थापना ।
विगतमा परिवर्तनको नाममा धेरै प्रयोग गरिए, तर ती प्रायः सतही मात्र रहे । दलहरूले नयाँ पुस्तालाई अवसर दिने कुरा गरे, तर निर्णय लिने तहमा पुरानै अनुहार यथास्थानमा छन् । ‘सेन्ट्रल कमिटी’ वा ‘पोलिटब्युरो’का बैठकहरूले उठाएका प्रश्नहरू पनि कागजमा मात्र सीमित छन्, व्यवहारमा प्रतिबिम्बित हुँदैनन् । न त विचारधाराको स्पष्टता छ, न त कार्यदिशाको दृढता । दलहरू अझै चुनावी स्वार्थ र पद प्राप्तिमा केन्द्रित छन् । अब समय आएको छ, पुराना दलहरूले आत्मसमिक्षा गरून् । संगठनमा सोचको क्रान्ति ल्याउने प्रयास गरून् । राजनीतिक प्रतिस्पर्धा केवल चुनाव जित्ने रणनीतिमा सीमित नहोस्, विचार, नीति र जनप्रतिनिधित्वको गुणस्तरमा आधारित होस् । त्यसका लागि दलहरू आफैंभित्र अनुशासन, जवाफदेहिता र सेवा भावको संस्कार निर्माण गर्न सक्नुपर्छ । जनधारणा साप्ताहिक


