विश्वकै धनाढ्य तथा प्रविधि व्यवसायी एलन मस्कले ‘अमेरिका पार्टी’ गठनको घोषणा गरेर अमेरिकी राजनीतिमा नयाँ तरंग ल्याएका छन् । ‘अमेरिका पार्टी’ औपचारिक रूपमा दर्ता भइसकेको छ कि छैन भन्ने जानकारी मस्कले दिएका छैनन् । पार्टीको स्वरुप र पार्टीको नेतृत्वबारे पनि स्पष्ट भइसकेको छैन । अमेरिकाको फेडलर इलेक्सन कमिसनले पनि शनिबारसम्म नयाँ दल दर्ताबारे जानकारी दिएको छैन । तर, उनको यो कदमले अमेरिकाको दुई दलीय प्रणाली, डेमोक्रेटिक र रिपब्लिकनलाई चुनौती दिने सम्भावना बोकेको छ । यता नेपालमा पनि २०७९ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उदयले परम्परागत राजनीतिक दलहरूलाई चुनौती दिएको छ । यी दुवै घटनाले विश्वभर नै स्थापित राजनीतिक संरचनाप्रति जनताको असन्तुष्टि र नयाँ शक्तिको खोजी बढ्दै गएको स्पष्ट पारेको छ ।
सन् २०२४ को निर्वाचनको बेला मस्क ट्रम्पको प्रमुख समर्थक थिए । उनले चुनावका लागि ट्रम्पलाई २५ करोड डलर चन्दा दिएको विषयले चर्चा पाएको थियो । रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्प राष्ट्रपति निर्वाचित भएपछि मस्क सरकारी खर्च कटौती सम्बन्धी कार्यदक्षता विभाग (डीओजीई) को प्रमुख पदमा नियुक्त भएका थिए । पछि ट्रम्पसँगको आन्तरिक विवादका कारण मस्कले सो पद त्यागेका थिए । पद त्यागलगत्तै उनले नयाँ राजनीतिक दल खोल्ने सम्भावनाको कुरा गरेका थिए । मस्कको ‘अमेरिका पार्टी’ को घोषणा उनको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको सम्बन्ध बिग्रनु र रिपब्लिकन पार्टीप्रति असन्तुष्टिसँग जोडिएको छ । उनले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत दुई दलीय प्रणालीलाई ‘एउटै सिक्काको दुई पाटा’ को रूपमा चित्रण गर्दै मध्यम वर्गीय अमेरिकीको आवाजलाई प्राथमिकता दिने दाबी गरेका छन् । तर, द्विदलीय राजनीतिक दबदबा रहेको अमेरिकामा मस्कको यो प्रयासले ठूलै चुनौती सामना गर्नुपर्नेछ ।
नेपालमा रास्वपाको उदय पनि यस्तै जनअसन्तुष्टिको परिणाम हो । रवि लामिछानेको नेतृत्वमा २०७९ असारमा गठन भएको रास्वपा प्रतिनिधि सभा निर्वाचनमा चौथो ठूलो दल बन्न सफल भयो । पुराना दलहरू, नेपाली कांग्रेस, नेकपा (एमाले), माओवादी केन्द्रप्रति मतदाताको वितृष्णा, विशेषगरी ‘बूढा नेता’ सँग युवा पुस्ताको निराशा रास्वपाको उदयको प्रमुख कारण थियो । रास्वपाले ‘घण्टी’ चुनाव चिह्न लिएर छोटो समयमै जनताको मन जित्यो, जसले परम्परागत दलहरूलाई दबाबमा राखेको छ ।
मस्कको अमेरिका पार्टी र रास्वपाको उदयमा केही समानता छन् । दुवैले स्थापित दलहरूप्रति जनताको असन्तुष्टिलाई उपयोग गरेका छन् । मस्कले मध्यम वर्गको आवाज र भ्रष्टाचारमुक्त शासनको कुरा उठाएका छन् भने रास्वपाले युवा पुस्ताको आकांक्षा र सुशासनको मुद्दालाई जोड दिएको छ । दुवैले सामाजिक सञ्जालको शक्तिलाई आफ्नो पक्षमा प्रयोग गरेका छन् । तर, चुनौतीहरू पनि समान छन् । अमेरिकामा तेस्रो दलको असफलता र नेपालमा रास्वपाको संगठनात्मक कमजोरीले दीर्घकालीन प्रभावकारिता बढाउनुपर्ने चुनौती छ । मस्कको घोषित पार्टीले अमेरिकी राजनीतिलाई हल्लाउन सक्ने सम्भावना छ, तर यसको सफलता उनको रणनीति र जनसमर्थनमा निर्भर रहनेछ । जनधारणा साप्ताहिक


