नेपालको समकालीन राजनीतिमा नेतृत्वको चरित्र र उद्देश्य झनझन् अस्पष्ट बन्दै गएको छ । यसको प्रत्यक्ष उदाहरण बनेका छन् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ । उनी एक समय व्यवस्था परिवर्तनका लागि जनयुद्धको नायक थिए भने अहिले प्रतिपक्षी दलका प्रमुख नेता भए पनि सत्ता पक्षजस्ता देखिएका छन् । पछिल्लो पटक भिजिट भिसा प्रकरणमा गृहमन्त्रीमाथि उठेको विवाद र संसद् अवरोधको सन्दर्भमा उनले दिएका अभिव्यक्तिहरूले उनलाई जनताको पक्षमा होइन, सत्ताको सुरक्षामा लागेका नेताको रूपमा चित्रित गरेको छ ।
चितवनको शिवनगरस्थित निवासमा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले भिजिट भिसाको विषय अहिलेको मात्र नभई २०६४ सालदेखि नै चलिरहेको पुरानो समस्या भएको बताए । यसको अर्थ, वर्तमान गृह मन्त्रालयको कमजोरी वा गम्भीर बेथिति कुनै नवीन समस्या होइन, विगतका सरकारहरूकै निरन्तरता हो भन्ने सन्देश दिन खोजिएको थियो । तर यथार्थ यो हो कि अहिलेको सन्दर्भमा यो मुद्दा सत्ता गठबन्धनभित्रकै मन्त्रीको कार्यसम्पादनसँग जोडिएको छ । यस्तो अवस्थामा जनताले आशा गरेको थियो– माओवादी केन्द्रले सत्तासँग आलोचनात्मक सम्बन्ध कायम राख्दै सत्यको पक्ष लिनेछ । तर, उल्टै प्रचण्ड सत्ता जोगाउने भूमिकामा सीमित भए ।
उनले संसद् अवरोध अन्त्य गर्न ३० दिनभित्र छानबिन समिति बनाउने सहमतिमा हस्ताक्षर गरे, तर त्यसलाई पनि एक किसिमको ’राजनीतिक सम्झौता’का रूपमा व्याख्या गरे । संसद् सञ्चालन, ऐन निर्माण, बजेट पारितजस्ता कारणहरू देखाएर उनी प्रतिपक्षका जायज प्रश्नहरूलाई झिनो राजनीतिक टालटुले सहमतिमा परिणत गर्न चाहन्छन् । यस्तो व्यवहारले प्रचण्ड नेतृत्व अब सशक्त प्रतिरोध होइन, सत्तासँग मिल्ने लचिलो व्यवस्थापकमा सीमित हुँदै गएको पुष्टि गर्छ ।
प्रचण्डले आफूहरू प्रतिपक्षमा भए पनि सत्तापक्षको भूमिका निर्वाह गर्न बाध्य भएको दाबी गरे । वास्तवमा त्यो कथनले उनको नेतृत्व पलायनको दिशामा गएको प्रमाण दिन्छ । नेतृत्व सत्ताबाट होइन, दृष्टिकोणबाट बन्ने हो । तर प्रचण्डको दृष्टिकोण अहिले सत्ता साझेदारहरूलाई सहज गराउनेतर्फ केन्द्रित देखिन्छ । उनी जनताको चासोभन्दा सत्ता समीकरणप्रति बढी संवेदनशील छन् । उनी प्रतिपक्षका आवाजलाई प्रखर बनाउने होइन, मत्थर पार्ने रणनीतिमा लागेका छन् ।
राजनीतिमा एउटा यथार्थ के हो भने, नेतृत्व केवल कुर्सीले परिभाषित गर्दैन, त्यसको निर्णय, दृष्टिकोण र जवाफदेहिताले उसको उचाइ तोक्छ । जब एक नेता दोष देख्दादेख्दै पनि आलोचना होइन, समर्थनका शब्द बोल्छ, त्यो नेतृत्व जिम्मेवारीबाट भागिरहेको संकेत हो । आज प्रचण्डले जुन शैलीमा ‘सत्तापक्षको भूमिका निर्वाह गर्न बाध्य’ भएको बताए, त्यो क्रान्तिकारी नेतृत्वको होइन, सत्ता मोहको चरम उदाहरण हो ।
यो अवस्थाले प्रचण्डलाई विफलताको बाटोतर्फ डोहो¥याएको छ । यो नेपाली राजनीतिमा आदर्श र व्यवहारबीचको गहिरो अन्तरको कथा हो । प्रचण्डले जनताको पक्षमा लड्ने क्रान्तिकारी नेताबाट सत्ताको सीमित स्वार्थमा सन्तुलन खोज्ने रणनीतिक खेलाडीको रूप धारण गरिसकेका छन् । प्रचण्डको यो पलायन यात्रा जनतासँगको प्रतिबद्धता छोडेर गठबन्धनसँगको सम्झौतामा रूपान्तरण भएको देखिन्छ । अहिले उनी न प्रतिपक्षजस्तो देखिन्छन्, न त सत्ताधारीजस्तै । उनी आफ्नो भूमिकामै अन्योलग्रस्त नेता बनेका छन् । जनताले चिनेको प्रचण्ड र आज देखिएको प्रचण्डबीचको दुरी नै ‘प्रचण्डको पलायनयात्रा’ को यथार्थ हो । जनधारणा साप्ताहिक


