सबि भट्टराई,
गत जनवरीयता अमेरिकी राष्ट्रपतिको रुपमा आफ्नो दोस्रो कार्यकाल थालेसँगै डोनाल्ड ट्रम्पले अमेरिकामा वैध कागजात नभई बसिरहेका आप्रवासीलाई उनीहरुकै देशमा फिर्ता गर्न थालेका छन् । यस क्रममा दर्जनौं नेपालीलाई पनि चार्टर्ड विमानमार्फत नेपाल फिर्ता गरिएको छ । एक साताअघि मात्र ८ जना नेपालीलाई फिर्ता ल्याइएको थियो । यसरी फिर्ता पठाउने क्रममा भने अमेरिकाले आप्रवासीलाई हतकडी र नेल लगाएर अपराधीसरह व्यवहार गर्ने गरेको छ । जसको विश्वभर आलोचना भइरहेको छ ।
आप्रवासीलाई अपराधीसरह व्यवहार गरेर अमेरिकाले मानवअधिकारको गम्भीर उल्लंघन गरेको मानवअधिकारवादी संस्थाहरुले जनाएका हुन् । तर, अमेरिकी आकर्षणका कारण अझै थुप्रै नेपालीहरु अवैध बाटो भएर अमेरिका जाने गरेका छन् । यस क्रममा उनीहरुले ४०–५० लाखदेखि झण्डै करोड रुपैयाँसम्म खर्च गर्ने गरेका छन् । अमेरिका पुगेर त्यहाँ पक्राउ परेसँगै कानुनी प्रक्रियाका लागि लाग्ने खर्च त अलग्गै छ । यही कारण नेपालका विभिन्न स्थानमा रहेका अभिभावकहरु ऋणको पासोमा परेका छन् । यस्तो अवस्था आउनु भनेको गणतन्त्रका शासकहरुलाई लज्जाबोधको विषय हो । गणतन्त्र स्थापनायताका करिब दुई दशकमा पनि नेपालीलाई देशमा नै केही गर्न सकिन्छ र लाखौं रकम तिरेर अवैध बाटोबाट अमेरिका जानुपर्दैन भन्ने आत्मविश्वास यो शासनव्यवस्थाले दिन नसकेको स्पष्ट हुन्छ ।
युवावस्था भनेको काम गर्ने उमेर हो । कुनै युवालाई सक्षम बनाउन अभिभावक तथा सरकारले लामो समयदेखि लगानी गरिरहेको हुन्छ । त्यसैले उनीहरुको कामबाट देशको अर्थतन्त्र चलायमान हुनुका साथै देशमा विकास र समृद्धिको पनि परिकल्पना गरिन्छ । त्यसैले कुनै पनि देशमा युवाको संख्या धेरै हुनुलाई स्वर्णकाल मानिन्छ । धेरै देशमा युवाको संख्या बढी हुँदा ती देशले विकासमा फड्को मारेका उदाहरण पनि थुप्रै छन् ।
अहिले नेपालमा पनि युवाको संख्या बालबालिका तथा वृद्धवृद्धाको भन्दा धेरै छ । तर यो अवस्था धेरै लामो समयसम्म रहन्न । यसको अर्थ केही वर्षपछि नै नेपालमा युवाको भन्दा वृद्धवृद्धाको संख्या धेरै हुनेछ । अहिले नै विगतमा जस्तो धेरै सन्तान पाउने चलन हटिसकेको छ । बढ्दो आर्थिक भारका कारण युवा एक वा बढीमा दुई सन्तान मात्र चाहना राख्छन् । अझ वैदेशिक रोजगारीमा जाने कारणले सन्तान पाउने उमेर पनि बढ्दै गएको छ । त्यसकारण बालबालिका र युवाको संख्याको विगतमा तुलनामा आगामी दिनमा घट्दै जाने स्पष्ट नै छ । त्यसैले युवाको संख्या धेरै रहेको अवस्था नेपालका लागि स्वर्णकाल हो । तर, यो स्वर्णकालको सदुपयोग भने अन्यत्रै देशले गरिरहेका छन् । हो, नेपालमा रोजगारीको कमीका कारण धेरै युवा वैदेशिक रोजगारी तथा अन्य बहानामा विदेश पुगिरहेका छन् । हाल नेपालबाट काम र अध्ययनका लागि युवा विदेशिरहेका छन् ।
रोजगारी नहुँदा अदक्ष, अर्धदक्ष, दक्ष सबैखाले जनसंख्या खाडी मुलुक, दक्षिण कोरिया, युरोप, अमेरिकाजस्ता स्थानमा पुगिरहेका छन् । खाडी मुलुकमा जाने नेपाली आफ्नो श्रम गर्नसक्ने उमेरसम्म त्यहीँ रहने र काम गर्न नसक्ने भएपछि मात्र नेपाल फर्किने गरेका छन् । त्यसैले नेपाली सस्तो श्रमको उपयोग गरेर खाडी मुलुक झनै समृद्ध बनिरहेका छन् । अर्कोतर्फ जापान, युरोप, अस्ट्रेलिया, अमेरिका तथा क्यानडा जस्ता स्थानमा अध्ययनका लागि भनेर धेरै नेपाली विद्यार्थी पुगेका छन् । यहाँ जानका लागि ठूलो रकम खर्च गर्नुपर्छ । त्यस्तै अध्ययनका लागि पनि नेपालबाट ठूलो रकम विद्यार्थीले लैजाने गर्छन् ।
एकातर्फ उनीहरुले यसरी नेपालबाट रकम कमाइरहेका छन् भने अर्कोतर्फ त्यहाँ पुग्ने नेपाली विरलै मात्र नेपाल फर्कन्छ । नेपालीलाई स्थानीय नागरिकभन्दा सस्तो पारिश्रमिक दिँदा हुने भएकाले उनीहरुलाई पनि त्यहीँ बस्ने व्यवस्था गरिएको छ । नेपालीहरु पनि यहाँको राजनीतिक अवस्था, अविकासजस्ता कारणहरुले विदेशमा नै बस्न रुचाइरहेका छन् । यस्तो अवस्था आउनुको कारण हो, राजनीतिक असफलता, बेरोजगारी र काम गर्ने वातावरण नहुनु । असफल राजनीतिका कारण देशमा विकास निर्माण ठप्प छ । कलकारखानामा उत्साह छैन, कृषक हतोत्साही भएका छन् । देशका वर्षेनि ५ लाख जना रोजगारीको बजारमा आउने गरेका छन् ।
तर, सरकार रोजगारी सृजना गर्न असफल साबित भइरहेको छ । देशमा रोजगारी नहुनु, भएका रोजगारी पनि अति नै न्यूनतम पारिश्रमिक हुनु, कृषकलाई प्रोत्साहन नहुनु जस्ता कारणले पनि वैदेशिक रोजगारीमा जाने बढिरहेका छन् । हाल दैनिक रुपमा १५ सयदेखि २५ सय जनासम्म नेपालीहरुले वैदेशिक रोजगारीमा जाने तथ्यांक छ । यो केवल वैधानिक रुपमा देखिएको तथ्यांक हो । अवैध रुपमा विदेश जानेको संख्या अझै धेरै छ । यो जनशक्तिलाई देशमा नै राखेर उद्यम गर्ने वातावरण निर्माणतर्फ सरकारको ध्यान जान आवश्यक छ ।