काठमाडौं । महाशिवरात्रिको समयमा बागमती नदीमा पानीको बहाव बढाउन मेलम्चीको पानी नदीमा छाडिएको छ।
मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछानेका अनुसार बागमतीमा मेलम्चीको पानी प्रतिसेकेण्ड करिब १ हजार लिटर बगाइएको हो। अरु समयमा पनि छ सय लिटर प्रतिसेकेण्ड खोलामा पानी बगाउने गरेको उनले जानकारी दिए। आयोजनाको क्षमता १७ करोड लिटर भनिए पनि अहिले २३ करोड लिटर खानेपानी प्रतिदिन ल्याएको जानकारी पनि उनले दिए। ‘शिवरात्रिमा मात्रै नभएर मेलम्चीले अरु पर्व तथा दैनिक रूपमा बागमतीमा पानीको बहाव बढाउन सहयोग गरिरहेको छ,’ उनले भने।
बिहीबार बिहान ८ बजेसम्म शिवरात्रिका लागि पानी बगाइने छ । गत वर्षको शिवरात्रिमा एकीकृत वाग्मती सभ्यता विकास समितिअन्तर्गत वाग्मती सुधार आयोजनाले धाप ड्यामको पानी बागमतीमा नदीमा बगाएको थियो।
धाम ड्याममा वर्षाको समयमा आकाशबाट परेको पानी जम्मा गर्ने र हिउँदको समयमा वाग्मती नदीमा छाड्ने लक्ष्यका साथ आयोजना निर्माण गरिएको थियो । वर्षात्को समयमा यहाँ जम्मा गरिएको पानी हिउँदको समयमा प्रतिसेकेण्ड चार सय प्रतिलिटरका दरले बागमतीमा छोड्ने आयोजनाको लक्ष्य छ ।


