काठमाडौं । नेपाल विद्युत प्राधिकरण चन्द्रनिगापुर शाखाले विद्युत चुहावट गर्ने सात जनालाई पक्राउ गरेको छ।
वृन्दावन र चन्द्रपुर नगरपालिकाका विभिन्न स्थानमा मिटरमा हुकिङ तथा तारमा सिधै हुकिङ गरी विद्युत चोरी गरिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको हो ।
नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र चन्द्रनिगापुरका प्रमुख इन्जिनियर धीरेन्द्र यादवका अनुसार, विशेष निगरानीका क्रममा बुधबार राति सात जनालाई पक्राउ गरिएको हो । “विद्युत चुहावटले आर्थिक क्षति मात्रै होइन, आगलागी र दुर्घटनाको जोखिम पनि बढाउँछ । त्यसैले यसलाई कडाइका साथ नियन्त्रण गरिन्छ,” उनले भने । पक्राउ परेकाहरूमाथि नियमअनुसार जरिवाना तिराइएर उनीहरूलाई चेतावनी दिई रिहा गरिने छ ।
नेपाल विद्युत प्राधिकरण चन्द्रनिगापुर वितरण केन्द्रले आगामी दिनमा पनि विद्युत चुहावट रोक्न अभियानलाई अझै तीव्रता दिने जनाएको छ । विद्युत चोरी नियन्त्रणका लागि प्राधिकरणले स्थानीय प्रशासन, सुरक्षाकर्मी तथा उपभोक्तासँग सहकार्य गर्दै निगरानी बढाउने योजनासमेत अघि सारेको छ । “विद्युत चोरी नियन्त्रणमा सबैको साथ आवश्यक छ । यदि कसैले यस्ता गतिविधि देखेमा तुरुन्तै जानकारी दिन आग्रह गर्दछौं,” इन्जिनियर यादवले बताए ।
नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र चन्द्रनिगापुरले यसअघि पनि विद्युत चुहावट नियन्त्रणका लागि विभिन्न कारबाही गर्दै आएको छ । यस्ता कार्यमा संलग्न जोसुकैलाई कानुनी दायरामा ल्याउने चेतावनी प्राधिकरणले दिएको छ ।