-जानकी पाण्डे,
काठमाडौं महानगरपालिकाको प्रमुखमा निर्वाचित भएसँगै बालेन सधैं चर्चामा छन् । आफ्नो काम तथा अभिव्यक्तिका कारण उनी चर्चामा आउने गरेका छन् । स्वतन्त्र उम्मेदवार बनेर चुनावमा प्रतिस्पर्धा गरी मेयर निर्वाचित भएका बालेनको नयाँपुराना दलका शीर्षस्थ नेतासँग तुलना हुने गरेको छ । पुराना राजनीतिक अभ्यास र प्रणालीविरुद्ध खरो रुपमा उत्रिएका बालेनको विशेषगरी एमाले र यसका अध्यक्ष केपी शर्मा ओलीसँगको सम्बन्ध पानी बाराबारकै अवस्थामा पुगेका छन् । बालेनले पछिल्लो समय एमाले र प्रधानमन्त्री ओलीको गतिविधिको विरोध गर्दै आएका छन् ।
प्रधानमन्त्री ओलीले पनि बालेनलाई बलियो हुने गरी गतिविधि गर्दै आएका छन् । पछिल्लो उदाहरण हो, नाबालिकालाई घरेलु कामदारका रुपमा राख्ने र हिंसा गरेको आरोप लागेकी एमाले नेतृ सांसद रेखा शर्मा उन्मुक्ति दिने सरकारको कदम । आफ्नै घरमा काम गर्न बसेकी एक बालिकालाई श्रमशोषण गरेको आरोप लागेकी शर्मालाई सरकारले उन्मुक्ति दिन लागेको छ । बालिकालाई घरमा बन्धक बनाई राखेको अवस्थामा केही समयअघि काठमाडौं महानगरपालिकाले उद्धार गरेको थियो । उनीमाथि सरकार वकिलको कार्यालय काठमाडौं र उच्च सरकारी वकिलको कार्यालय पाटनले मुद्दा नचलाने निर्णय गरेको हो । जिल्ला र उच्च दुवैले सांसद शर्माविरुद्ध मुद्दा चलाउन नपर्ने निर्णय गरी फाइल महान्यायाधीवक्ताको कार्यालयमा पठाएको छ । महान्यायाधीवक्ताको कार्यालयले सो रायलाई सदर गर्ने तयारी गरेको छ । महान्यायाधीवक्ता कार्यालयले सो राय सदर गरेमा सांसद शर्माले गम्भीर अपराधको आरोपबाट उन्मुक्ति पाउनेछिन् । गठ जेठ १४ गते काठमाडौंको बालुवाटारस्थित सांसद शर्माको घरबाट ती बालिकालाई काठमाडौं महानगरले उद्धार गरेको थियो । बालिका उद्धार गरेपछि काठमाडौंका मेयर बालेन शाहले फेसबुकमा सांसद शर्माको तस्बिर सार्वजनिक गर्दै एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीमाथि आक्रोश पोखेका थिए । महानगरले शर्माविरूद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा जेठ ३० गते जाहेरी दिएको थियो ।
महानगरले परिसरमा बालबालिका सम्बन्धी ऐनको २०७५ को दफा ६६ उपदफा (२) (ङ) अनुसारको कसुर भएको भन्दै जाहेरी दिएको थियो । शर्मालाई उन्मुक्ति दिने सरकारको कदमको बालेनले फेसबुकमार्फत आलोचना गरेका छन्, जसलाई थुप्रै सर्वसाधारणले समर्थन गरेका छन् । यसले एमाले तथा ओलीप्रतिको आलोचनामा थप बल मिलेको छ भने बालेनप्रति समर्थन झनै बढाएको छ । यसअघि, बालशोषण गरेको आरोप लागेकी एमाले नेतृलाई कारबाही नगरेकोमा पनि बालेनले आपत्ति जनाउँदै आएका थिए । उक्त नेतृलाई संरक्षण गरेको भन्द बालेनले ओलीको आलोचना गरेका थिए । यही कारणले सामाजिक सञ्जालमा दुवै नेताका समर्थकले एक अर्कालाई अनफलो गर्ने अभियान नै चलाएका थिए । यस्तै, बालेनले तीनकुनेमा रहेको व्यक्तिको जग्गा वर्षौंदेखि सरकारले लुटेर राखेकोसमेत जनाएका छन् । सरकारले विभिन्न बहाना गर्दै तीनकुनेका जग्गा धनीहरूलाई अहिलेसम्म पनि मुआब्जा नदिएको र मुआब्जा दिने प्रक्रिया नै अघि नबढाएको पनि उनले जनाएका थिए । ‘५० औं वर्षदेखि समस्या समाधान भएको छैन, उहाँहरूले मुआब्जा पाउनुभएको छैन,’ तीनकुनेभित्रका जग्गा धनीहरूको सहमति र सरस्वती युथ क्लवको सहकार्यमा भएको प्रथम कोटेश्वर महोत्सवमा बोल्दै मेयर शाहले भनेका थिए, ‘कोही नेताहरूले मुआब्जाको प्रक्रिया अघि बढेको छ भन्नु भयो भने नपत्याउनुहोला, कुनै प्रक्रिया भएको छैन ।’ यद्यपि, काठमाडौंको मेयर निर्वाचित भएलगत्तै बालेनले ओलीसँग भेट गरेका थिए । त्यतिबेला ओलीले बालेनलाई तबला उपहार दिएका थिए ।
इन्जिनियर तथा ¥यापरसमेत रहेका बालेनलाई सांगीतिक झुकाव देखेर तबला उपहार दिएको ओलीले बताएका थिए । २०७९ असारको उक्त भेटपछि दुवै नेताबीच सम्बन्ध सुमधुर हुनुको साटो झन्झन् बिग्रँदै गएको देखिन्छ । अहिले त दुवै पक्षबीच पानीबाराबारको जस्तो अवस्था देखिएको छ । एमाले अध्यक्ष तथा प्रधानमन्त्री ओली पुराना तथा शीर्ष नेता हुन् । बालेन भने युवा नेता । तर, यी दुईमा मनमुटावको अवस्था किन आयो ? खासगरी काठमाडौं महानगरमा एमालेका जनप्रतिनिधिका कारण आफूले काम गर्न नसकेको बालेनले महसुस गर्दै आएका छन् । अर्कोतर्फ काठमाडौंमा सुकुम्बासी बस्ती हटाउन नदिएको र उल्टै एमालेले संरक्षण दिएको पनि आरोप बालेनको छ । पछिल्लो समय नदी किनारका बस्तीका सम्बन्धमा सर्वोच्च अदालतले दिएको फैसलाको विषयमा पनि यी नेता आमनेसामने भएका थिए । ओली पाका पुस्ताका नेता हुन् बालेन युवा । बालेनका कारण युवाले राजनीतितर्फ पनि चाख बढाएका छन् । यस्तो अवस्थामा यी दुई नेता मिल्न सकेमा त्यो देश र जनताको भलाइमा हुने थियो । ओलीले युवा नेताको रुपमा बालेनको समर्थन गर्न सके उनको पनि हालसम्मको राजनीतिक यात्रा अझै प्रभावकारी र सफल हुने थियो । त्यसैले विरोधभन्दा पनि मेलमिलापको वातावरण सृजना गर्न जिम्मेवार पक्ष लाग्नुपर्छ । जनधारणा साप्ताहिक