काठमाडौं । प्रहरीले सामाजिक सञ्जालमार्फत आतंक सिर्जना गरेर डर, त्रासको वातावरण सिर्जना गरेको आरोपमा ७ जनालाई पक्राउ गरेको छ।
सामाजिक सञ्जालमा खुकुरी देखाउने र गुन्डागर्दीमा रहेको सूचनाका आधारमा काठमाडौंका विभिन्न ठाउँहरूबाट ७ जनालाई पक्राउ गरिएको हो।
पक्राउ पर्नेहरूमा गोपाल मोक्तान, गुणबहादुर गुरुङ, रोमन मगर, सुमन पराजुली, मनोहर थापा मगर, रोनिस बरामु र रोशन तामाङ छन्। यो समूहले टिकटकमा ‘ग्याङ स्टार’ प्रदर्शन गरेको, तरबार प्रदर्शन गर्ने गरेको, हतियार र बडी प्रदर्शन गर्दै समाजमा अशान्ति मच्चाएको आरोप छ।
उनीहरूले १०/१५ जनाको समूह बनाई खुकुरी, तरबारले केक काट्ने, मसल प्रदर्शन गर्ने र त्यसको भिडिओ बनाई टिकटकमा पोस्ट गर्ने गरेका थिए।
पक्राउ परकोहरूविरूद्ध प्रहरीले सार्वजनिक शान्तिमा खलल पुर्याएको आरोपमा अनुसन्धान गर्ने जनाएको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले समाजमा आतंक सिर्जना गर्ने र गुण्डागर्दीमा संलग्नहरूविरूद्ध कडा रुपमा प्रस्तुत हुने नीति अनुसार कारबाही प्रक्रिया थालिएको प्रमुख एसएसपी रमेश बस्नेतले जनाए।