काठमाडौं । काठमाडौंको बागबजारस्थित पद्मकन्या बहुमुखी क्याम्पस अगाडिको सडकमा पैदल यात्रुले आफैंले बटन थिचेर ट्राफिक बत्ती बाल्ने प्रविधि सञ्चालनमा आएको छ ।
बुधबारदेखि पद्मकन्या अगाडिको सडकमा काठमाडौं महानगरपालिकाले पेलिकन क्रसिङ सञ्चालनमा ल्याएको हो । पैदल यात्रुको सुरक्षालाई मध्यनजर गर्दै काठमाडौं महानगरले अहिलेसम्म ३६ ठाउँमा पेलिकन क्रसिङ सञ्चालनमा ल्याइएको काठमाडौं महानगरपालिकाका ट्राफिक विज्ञ सल्लाहकार जगतमान श्रेष्ठले जनाए ।
उनले सडक दुर्घटना न्यूनीकरण र यात्रुको सुरक्षाका लागि उक्त प्रविधिको अवधारणा ल्याइएको बताए । उनका अनुसार पेलिकन क्रसिङ गर्दा यात्रुले बटन थिच्नेबित्तिकै केही समयका लागि सवारीसाधन रोकिनेछन् र यात्रुले ढुक्कका साथ क्रस गर्न सकिनेछ । यात्रुको सुरक्षालाई मध्यनजर गर्दै महानगरपालिकाले अन्य ठाउँहरूसमेत ट्राफिक लाइट बाल्ने प्रविधि सुरु गर्न लागेको उनले जनाए ।
‘यसलाई बटन क्रसिङ भन्छ । जबसम्म यसमा रहेको बटनलाई पुस गरिँदैन यसले काम गर्दैन । पुस गरिसकेपछि यसले आफ्नो समयमा काम गर्छ । अहिले जथाभावी क्रस गर्ने भएको कारण सुरक्षित छैन । अहिले हामीले ३६ ठाउँमा यो राखेका छौं ।
यसमा पुस गरिसकेपछि निश्चित समयका लागि गाडि रोकिन्छ । र ढुक्कका साथ बाटो काट्नसक्छ । यात्रुको सुरक्षालाई मध्यनजगर गरेर काठमाडौं महानगरपालिकाले यो कामहरु गर्न थालेको हो,’ उनले भने ।