पर्सा । २५ भदौ पर्साको चर्चित क्यासिनो प्रकरणसँगै इलाका प्रहरी कार्यालय पोखरियाको नेतृत्वमा परिवर्तन गरिएको छ।
उक्त प्रकरणमा नाम जोडिएपछि इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक प्रदीप पौडेल निलम्बनमा परेका छन्।
प्रहरी निरीक्षक पौडेल निलम्बनमा परेसँगै इलाका प्रहरी कार्यालय पोखरियामा नयाँ प्रहरी निरीक्षकका रूपमा भानुभक्त अर्याल आज हाजिर भएका छन्।
प्रहरी निरीक्षक अर्याल इलाका प्रहरी कार्यालय गजुरीबाट काज सरुवामा पोखरिया आएका हुन्। नवनियुक्त प्रहरी निरीक्षक अर्यालले कार्यालयको जिम्मेवारी सम्हाल्दै शान्ति–सुरक्षा कायम गर्न, अपराध नियन्त्रणलाई प्रभावकारी बनाउन तथा नागरिकमैत्री प्रहरी सेवामा विशेष ध्यान दिने बताएका छन्।
क्यासिनो प्रकरणको अनुसन्धान जारी रहेका बेला पोखरिया प्रहरीको नेतृत्व परिवर्तनलाई अर्थपूर्ण रूपमा हेरिएको छ। प्रहरी संगठनले अनुसन्धानलाई निष्पक्ष र प्रभावकारी बनाउन आवश्यक प्रशासनिक कदमस्वरूप नेतृत्व परिवर्तन गरेको बताइएको छ। जिल्ला प्रहरी कार्यालय पर्साले क्यासिनो प्रकरणबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।


