सत्तारुढ दल एमाले र प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका केन्द्रीय कमिटी बैठक हालै राजधानीमा सम्पन्न भएका छन् । यी दुई वामपन्थी दलबीच केही वर्षअघि एकीकरण भएको थियो भने सत्ताका लागि धेरै पटक सहकार्य पनि भएको छ । तर, केही नेताको जुँगाको लडाइँका कारण यी प्रमुख वामपन्थी दलबीचको सम्बन्ध सुमधुर हुन सकेको छैन । यसको असर भने जनता, देश र समग्र नेपाली कम्युनिस्ट आन्दोलनमा नै देखिएको छ । हालै भएका केन्द्रीय कमिटी बैठकमा पनि एमाले र माओवादीका नेताले एकअर्काको दलको आलोचना नै गरेका छन् । त्यसकारण यी दुई दलबीच सहकार्यको सम्भावना हाल देखिँदैन ।
केही महिनाअघि माओवादीले सत्तामा ल्याएको एमालेले उसैलाई धोका दिएर कांग्रेससँग मिल्न गएपछि वामपन्थी सहकार्य टिक्न सकेन । कम्युनिस्ट पार्टीहरुबीच विश्वासको खडेरीको संकट देखिँदा यसको असर भने तिनै पार्टीमा देखिने भएको छ । २०७४ चुनावमा एमाले र माओवादी केन्द्र मिल्दा पार्टीदेखि जनतासम्ममा छुट्टै रौनक देखिएको थियो । त्यतिबेला वाम गठबन्धनले चुनावमा बहुमत हासिल गरेको थियो । चुनावपछि बनेको नेकपासँग जनताको ठूलो आशाभरोसा थियो । तर, केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको जुँगाको लडाइँका बीचमा नेकपा धेरै वर्ष टिक्न सकेन । पार्टी विभाजन भएपछिको चुनावमा एमाले र माओवादीको पाएको जनमतमा त्यसको असर देखियो ।
त्यसयता एमाले र माओवादीले एकअर्कासँग हैन, कांग्रेससँग सहकार्य गरेका छन् । यस्तो अप्राकृतिक गठबन्धनको असर भने वामपन्थी दलले चुनावमा भोग्दै आएका छन् । सरकारमा हुँदा अर्को सत्ता सहयात्री दलको माग पूरा गर्न जस्तोसुकै निर्णय गर्दा सरकारको नेतृत्व गर्ने वामपन्थी दलको आलोचना हुने गरेको छ । यसअघि प्रचण्ड प्रधानमन्त्री हुँदा पनि भ्रष्टाचारका मुद्दामा कांग्रेसका ठूला नेताहरुलाई कारबाहीको दायरामा ल्याउन नसकेको आरोप लागेको थियो । अहिले ओलीमाथि पनि त्यस्तै आरोप छ । यसअघिका भ्रष्टाचारका प्रकरणमा थप अनुसन्धान अघि नबढ्ने स्थिति बनेको छ । यसले भविष्यमा ओली र एमालेलाई नै थप क्षति पु¥याउन सक्ने आकलन गर्न सकिन्छ ।
अहिले नेपाली कम्युनिस्ट पार्टीहरु नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी जस्ता नाममा विभाजित छन् । अझै थुप्रै कम्युनिस्ट पार्टी छन्, जो अझै पनि संघर्षको क्रममा छन् । तर, कम्युनिस्ट पार्टीहरुको विभाजनका कारण नेपाली कम्युनिस्ट आन्दोलन भने कमजोर भएको छ । कम्युनिस्ट सिद्धान्त, उद्देश्य एकातिर छन् भने नेताहरुको राजनीति अर्कोतिर छ । नीतिभ्रष्ट, सिद्धान्तभ्रष्ट भएका नेताहरुका कारण उनीहरु कम्युनिस्ट नेता हुन् कि पुँजीवादी बिचौलिया हुन् भन्ने संशय देखिएको छ । तर, एमाले र माओवादीका केन्द्रीय कमिटीबाट वामपन्थी शक्तिबीच सहकार्यको अपेक्षा जनताले गरेका थिएन । तर, बैठकले त्यस्तो सकारात्मक समाचार जनतालाई दिन सकेका छैनन् । उल्टै कम्युनिस्ट दलबीचको आफैंको कलहले यी पार्टीमाथि जनताको विश्वास घट्दै गएको छ । जनधारणा साप्ताहिक


