तम्घास । २५ जनाको क्षमता रहेको जिल्ला कारागार गुल्मीमा तीन गुणाभन्दा बढी कैदी बन्दीहरु बस्न बाध्य छन् । २५ जनाको क्षमता रहेको (ङ)वर्गको कारागारमा अहिले १०५ जना कैदीबन्दीहरु रहेको जिल्ला कारागार गुल्मीका प्रमुख रेश्मीराज पन्थीले जानकारी दिनुभयो । उहाँका अनुसार कैदी पुरुष ६९ जना, थुनुवा २९ जना, महिला कैदी पाँच जना र थुनुवा दुई जना गरी १०५ जना कारागारमा कैदी बन्दीहरु छन् ।
कारागारको भवन साँघुरो हुँदा धेरै समस्याहरु भोग्नुपरेको र कैदीबन्दीहरुलाई पर्याप्त खेलमैदान नहुनु, आर्थिक पार्जनका लागि उद्याेग खोल्नका लागि पनि समस्या भएको छ । भवन पनि जीर्ण रहेकाले समस्याहरु अझै थपिँदै गएको छ भने हालसम्म दुःख सुख चलाउँदै आएको र अझै कैदीबन्दीहरु थपिए भने समस्या झनै विकराल बन्दै जाने पन्थीको भनाइ छ । यस्तै, कारागार परिसरमा पानीको समस्या, सेफ्टी ट्याङकीको समस्या र सुरक्षा गार्ड भवनको पनि समस्या झेल्न बाध्य भएको उहाँको भनाइ छ ।
यता नागरिक समाज गुल्मीका अध्यक्ष पदम पाण्डेले कारागार सुधारगृह जस्तो हुनुपर्नेमा जोड दिनुभयो । कारागारमा प्रर्याप्त खेलमैदान, उचित वासस्थान र उद्यमी गर्नेहरुका लागि उद्योग दर्ता नहुँनुका साथै उचित व्यवस्था हुनुपर्ने ठाउँमा राज्यको ध्यान नजानु दुःखद भएको उहाँको भनाइ छ । भवन जीर्ण हुनुले पनि कैदीबन्दीलाई समस्या उत्पन्न हुनाले समयमै ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।
जिल्ला कारागार गुल्मीमा सिनीयर अहेवको दरवन्दी भएपनि लामो समय सम्म कर्मचारी नहुँदा समस्या झेल्नु परेको र अहिले उक्त समस्याको पनि समाधान भएको प्रमुख पन्थीले बताउनुभयो । २०७७ साल जेठ देखि कर्मचारी स्वास्थ्य मन्त्रालयको काजमै रहँदा बिरामीहरुलाई अस्पतालसम्म लान पनि समस्या आउने गरेको थियो । गत वर्षदेखि उक्त समस्या समाधान भएकाले अहिले कारागारमै स्वास्थ्य परीक्षण हुने गरेकाले सहज भएको उहाँको भनाइ छ ।