बाजुरा । बाजुरामा चिसोका कारण बालबालिकाहरुको परीक्षा प्रभावित बन्दै गएको छ । यहाँका विद्यालयले लिइने गरेको अर्धवार्षिक परीक्षाको समयमा उच्च हिमाली क्षेत्रमा परेको हिमपातले चिसो बढेपछि बालबालिकाहरुको परीक्षा पनि प्रभावित बन्दै गएको हो ।
शैक्षिक सत्र २०८१ सालमा भर्ना भएका बालबालिकाहरुको अर्धवार्षिक परीक्षा सञ्चालन भइरेको समय चिसो बढ्दै गएपछि परीक्षा प्रभावित बन्दै गएको विद्यालयले जनाएको छ । चिसोका कारण कक्षा कोठामा बस्न समस्या भएपछि बाहिर चौरमा बसेर परीक्षा दिने गरेको त्रिवेणी नगरपालिका–३ मा रहेको धौलपुरी माविका कक्षा १० का छात्र निखिल साउँदले बताउनुभयो । उहाँले भन्नुभयो, “आज बिहानदेखि लेकतिर हिमपात भएपछि यता पनि त्यो हिउँको सकारो आउने गरेकोले चिसो भयो ।
त्यो चिसोको कारण कक्षा कोठामा बसेर परीक्षामा दिन समस्या भएपछि बाहिर घाममा बसेर परीक्षा दिने गरेको साउँदले बताउनुभयो ।
विद्यालयमा कक्षा कोठाको अभाव छ । त्यसैमा हिमाली क्षेत्रमा हिमपात भएकोले यता पनि चिसो बढेपछि बालबालिकाहरुलाई बाहिर चौरमा घममा बसालेर परीक्षा लिने गरेको धौलपुरी माविका प्राधानाध्यापक रतनबहादुर सुनारले बताउनुभयो । उहाँले भन्नुभयो, “कक्षा कोठा कम छन् । विद्यार्थी बढी छन् । एकदेखि दश कक्षासम्मका बालबालिकाहरुको परीक्षासँगै लिएका छौं । यी सबै बालबालिकाहरु कक्षा कोठामा बसालेर परीक्षा लिन सक्ने अवस्था छैन ।”
विद्यालयमा झण्डै २५४ छात्राछात्र यो परीक्षामा समावेश भएका छन् । कक्षा कोठा अभाव भएका कारण सबै बालबालिकाहरुलाई घामको साहाराले बाहिर चौरमा राखेर परीक्षा लिने गरेको प्रधानाध्यापक सुनारले जनाउनुभयो । बाजुराका नौ वटै स्थानीय तहमा प्रारम्भिक बाल कक्षा २८२ आधारभूत विद्यायलय, २५३ छ देखि आठ कक्षा सम्मका १२१ नौदेखि दशसम्म, ६८ र एघारदेखि बाह्रसम्म तीस वटा विद्यालय सञ्चालनमा रहेको शिक्षा विकास तथा समन्वय इकाई बाजुराका सुचना अधिकारी लालबहादुर विष्टले जनाउनुभयो ।
उहाँले भन्नुभयो, “प्रारम्भिक बाल कक्षामा छ हजार ७३६ एक देखि पाँच कक्षामा १९ हजार ९०९ छ देखि आठ कक्षामा सम्म दश हजार ८२४, नौ देखि १० कक्षामा चार हजार ९७४, एघार देखि बाह्र कक्षामा दुई हजार ५७९ जना गरी ४५ हजार २२ जना बालबालिकाहरु अध्ययनरत छन् ।”
यी विद्यालयको प्राविमा ५४१ निमाविमा १३३ माविमा ७२ स्थायी दरबन्दी शिक्षक हुनुपर्ने हो । प्रारम्भिक बालकक्षामा दुई सय, एकदेखि पाँच कक्षामा ८१५, छ देखि आठ कक्षामा ३२६ नौ देखि दश कक्षामा २१५ र ११ देखि १२ कक्षामा ७१ जना शिक्षक रहेको शिक्षा विकास तथा समन्वय इकाई बाजुराका सूचना अधिकारी विष्टले जनाउनुभयो ।