एजेन्सी । एप्पलले आफ्नो दोस्रो आर्थिक त्रैमासिकमा बिक्री र आम्दानी दुवैमा लक्ष्यभन्दा राम्रो नतिजा निकालेपछि वर्तमान अवधिका लागि अपेक्षाभन्दा उच्च राजस्व पूर्वानुमान जारी गरेको छ । यससँगै विस्तारित कारोबारमा कम्पनीको सेयर करिब ३ प्रतिशतले बढेको छ ।
बिहीबारको रिपोर्टमा अपेक्षाहरू पूरा गर्न नसकेको एक मात्र महत्त्वपूर्ण तथ्यांक आईफोनको बिक्री हो जुन पछिल्ला तीन त्रैमासिकमध्ये दोस्रोपटक अनुमानभन्दा कम रह्यो ।
कम्पनीको बोर्डले थप १०० अर्ब डलरको सेयर पुनः खरिद गर्न अनुमति दिएको छ र नगद लाभांश ४ प्रतिशतले बढाएर प्रति सेयर २७ सेन्ट घोषणा गरेको छ ।
यस त्रैमासिकमा आईफोनको बिक्री अघिल्लो वर्षको तुलनामा २२ प्रतिशतले बढ्यो । अन्य इलेक्ट्रोनिक्स कम्पनीहरू जस्तै एप्पलले पनि आपूर्ति श्रृंखलामा अवरोध भोगिरहेको छ जसको मुख्य कारण कृत्रिम बुद्धिमत्ता (एआई) को बढ्दो मागले गर्दा विश्वव्यापी रूपमा देखिएको मेमोरी चिपको अभाव हो । मेटा र माइक्रोसफ्टले पनि बुधबार उच्च मेमोरी मूल्यका कारण उनीहरूको पुँजीगत खर्च बढ्ने बताएका थिए । टिम कुकले आईफोन १७ आफ्नो इतिहासकै सबैभन्दा लोकप्रिय शृंखला भएको बताएका छन् । कम्पनीले आईफोन र म्याकमा आपूर्तिको समस्या सामना गरिरहेको सीएफओ केभान पारेखले जानकारी दिए ।
मजबुत राजस्व मार्गदर्शनका साथै कुकले लगानीकर्ताहरूलाई मेमोरीको अभाव तुरुन्तै नहट्ने स्पष्ट पारे । मार्च अवधिमा यसको असर केही बढी देखिएको र वर्तमान त्रैमासिकमा मेमोरी लागत उल्लेख्य रूपमा उच्च हुने उनले बताए ।
मार्च महिनामा एप्पलले आईफोन १७ई, एम–४ चिपसहितको नयाँ आईप्याड एयर र विद्यार्थीहरूलाई लक्षित गरी ५९९ डलरको सस्तो म्याकबुक नियो जस्ता नयाँ उत्पादनहरू घोषणा गरेको थियो ।
वाल स्ट्रिटका लागि अहिलेको मुख्य चासो आगामी सीईओ जोन टर्नसबाट के अपेक्षा गर्ने भन्ने हो । एप्पलले अप्रिल २० मा घोषणा गरे अनुसार टर्नसले कुकको उत्तराधिकारीका रूपमा जिम्मेवारी सम्हाल्नेछन् भने कुक सेप्टेम्बर १ देखि कार्यकारी अध्यक्ष बन्नेछन् ।
धेरै समयदेखि एप्पलको हार्डवेयर विभाग सम्हालिरहेका टर्नसले आफ्नो मन्तव्यमा भने, ‘एप्पलमा मेरो २५ वर्षको करियरमा उत्पादन र सेवाहरू निर्माण गर्नका लागि यो सबैभन्दा रोमाञ्चक समय हो ।’
टर्नसले समाधान गर्नुपर्ने पहिलो काम भनेको एआईमा एप्पलको भविष्य तय गर्नु हो । एप्पलले आफ्नो सिरी उत्पादनलाई शक्तिशाली बनाउन गुगलको जेमिनी एआई मोडल प्रयोग गर्ने गरी साझेदारी गरेको छ । टिम कुकले गुगलसँगको सहकार्य राम्रोसँग भइरहेको र कम्पनीले स्वतन्त्र रूपमा गरिरहेको काममा पनि सन्तुष्ट रहेको बताएका छन् ।
यस त्रैमासिकमा सेवातर्फको राजस्व १६ प्रतिशतले बढेको छ । एप्पलले आफ्ना २.५ अर्ब भन्दा बढी सक्रिय उपकरण प्रयोगकर्ताहरूलाई एप्पल पे, आईक्लाउड र एप्पलकेयर जस्ता सेवाहरू बिक्री गर्छ । सेवा क्षेत्रको वृद्धिसँगै एप्पलको नाफा दर पनि बढ्दै गएको छ जुन पछिल्लो त्रैमासिकमा ४९.३ प्रतिशत पुगेको छ ।
ग्रेटर चाइना क्षेत्रको बिक्री २८ प्रतिशतले बढेर २०.५ अर्ब डलर पुगेको छ । चीन एप्पलका लागि अमेरिका र युरोपपछिको तेस्रो ठूलो बजार हो ।
अनुसन्धान र विकास खर्च राजस्व भन्दा तीव्र गतिमा बढेको छ । यो ३३ प्रतिशतले बढेर ११.४२ अर्ब डलर पुगेको छ । कुकका अनुसार, कम्पनीले एआईको सम्भावनालाई मध्यनजर गर्दै लगानी बढाएको हो । सीएफओ पारेखले एआई एप्पलका लागि वास्तवमै महत्त्वपूर्ण लगानीको क्षेत्र भएको र यसलाई थप प्राथमिकता दिइने बताएका छन् ।


