काठमाडौं । गणतन्त्र दिवसका अवसरमा गृहमन्त्री रवि लामिछानेले घोषणा गरेको मापसे गरी सवारी चलाएर समातिएकालाई ट्राफिक व्यवस्थापनका लागि स्वयंसेवकका रुपमा खटाउने निर्णय आजैदेखि कार्यान्वयनमा ल्याइएको छ।
मंगलबार घोषणा भएको उक्त निर्णय ट्राफिक प्रहरीले बुधबारदेखि नै कार्यान्वयनमा ल्याएको हो। बुधबार काठमाडौंका विभिन्न स्थानबाट पछिल्लो समय मापसे ( मादक पदार्थ सेवन) लगायत ट्राफिक नियम उल्लंघन गरी सवारी चलाएको अवस्थामा समातिएका चालकलाई सडकमा स्वयंसेवकको रूपमा खटाएको छ।
तर उनीहरूको काम सडक छेउमा घाममा उभिनु बाहेक केही छैन। विभिन्न चोकमा यसरी खटाइएको भए पनि उनीहरूले न त ट्राफिक प्रहरीलाई सघाएका देखिन्थे न उनीहरूले गर्दा सवारी आवागमनमा कुनै सहजता नै भइरहेको थियो।
मापसे गरी सवारी चलाएर समातिएकालाई प्रहरी बग्गीखानामा क्लास दिने गरेको छ। मंगलबार राति समातिएका उनीहरुलाई बुधबार बिहानै क्लास दिएपछि विभिन्न चोकहहरुमा उनीहरुलाई स्वयंसेवकका रुपमा खटाइएको छ।