पोखरा । सूर्य दर्शन बचत तथा ऋण सहकारी संस्थाको १ अर्ब ३५ करोड ५३ लाख ८२ हजार रुपैयाँ हिनामिनाको आरोपमा फरार दुई जनाले जिल्ला अदालत कास्कीमा आत्मसमर्पण गरेका छन्।
पक्राउ पुर्जी जारी भएपछि फरार शिवबहादुर गुरुङ (महेन्द्र भोटे) र भविश्वर अर्याल मंगलबार अदालतमा उपस्थित भएका हुन्। उनीहरुको जिल्ला न्यायधिश बसन्तजंग थापाको इजालसमा वयान भएको जिल्ला अदालत कास्कीका सूचना अधिकारी सुरज अधिकारीले बताए। ‘२ जनाको वयान भएको छ। थुनछेक आदेश आउन बाँकी छ’, उनले भने।
अदालतले आदेश आउन बाँकी भएकाले जिल्ला प्रहरी कार्यालय कास्कीमा पठाएको छ। अाज बुधबार फेरि अदालतमा उपस्थित गराइनेछ।
कर्मचारी र पत्रकारलाई तलब खुवाउन नसक्ने भएपछि बन्दको अवस्थामा पुगेको ग्यालेक्सी फोरके टेलिभिजनका सञ्चालकसमेत रहेका गितेन्द्रबाबु (जीबी) राईको समूहले खोलेको सूर्यदर्शन सहकारीले पोखरेली बचतकर्ताको झन्डै डेढ अर्ब रकम हिनामिना गरेको छ। १ हजार ३५ जना बचतकर्ताले १ अर्ब ११ करोड रुपैयाँ दाबी गर्दै जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिएका छन्।
सहकारीका सञ्चालक गितेन्द्रबाबु राई (जीबी) सहित १९ जनाविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ। यसअघि २ जना मात्रै पक्राउ परेका थिए। सहकारीका कोषाध्यक्ष कुमार रम्तेल र उपाध्यक्ष कैलाशकुमार दर्लामीलाई प्रहरीले पक्राउ गरेको थियो। भदौ अन्तिममा पक्राउ परेका रम्तेल पुर्पक्षका लागि थुनामा छन्। बिहीबार पक्राउ परेका दर्लामीलाई सोमबार थुनछेक बहस सकेर जिल्ला अदालत कास्कीले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो।
पूर्वअध्यक्ष जीबी राईसहित वर्तमान सञ्चालक समिति, पूर्वसञ्चालक समिति, लेखाका कर्मचारीसहित १५ जना अझै फरार छन्। बचतकर्ताको रकम हिनामिना गरेपछि प्रहरीले अनुसन्धान सकेर असोज १६ गते सरकारी वकिलको कार्यालय कास्कीमा प्रतिवेदन पेस गरेको थियो। सरकारी वकिलको कार्यालयले असोज १८ गते १९ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता गराएको हो। फरार रहेका १७ जनाविरुद्ध रेडकर्नर नोटिस गर्ने प्रहरीको तयारी थियो। २ जना अदालतमा उपस्थित भएका हुन्।