काठमाडौं । सिंहदरबारमा मंगलबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा एनसेलको सेयर खरिदबिक्री अस्वाभाविक भएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा आफूले प्रतिबद्धता गरेअनुसार काम गर्न नसकेको स्वीकार गर्दै थिए । सरकारको नेतृत्वले नै आफ्नो सरकार असफल भएको टिप्पणी गर्दै गर्दा सोही दिन अर्को विपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बृहत् आन्दोलन गर्ने निर्णय गरेको छ ।
राजतन्त्रको पक्षमा उभिँदै आएको राप्रपाले राजसंस्था र वैदिक सनातन धर्मसापेक्ष हिन्दु राष्ट्र पुनःस्थापना तथा प्रदेश खारेजीको माग राखेर बृहत् आन्दोलन गर्ने निर्णय गरेको हो । पछिल्लो समय विवादित छविका मेडिकल व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा राजतन्त्र पुनस्र्थापनाको मागसहित राजधानी काठमाडौंमा विरोध प्रदर्शन भएको थियो । त्यो प्रदर्शनलाई नैतिक समर्थन गरेका राप्रपाका नेताहरु अब आफूहरु नै आन्दोलनमा जाने भएका हुन् । राप्रपा पुस र माघमा आन्दोलनको आन्तरिक तयारी गर्ने र फागुनदेखि चरणबद्ध आन्दोलनमा जाने भएको हो । पदाधिकारीहरुको बैठकले फागुनबाट आन्दोलनमा जाने निर्णय गरेको पार्टी प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।
राप्रपा संघीय सरकारमा नजाने पनि निर्णय भएको छ । राप्रपाले तत्काल केन्द्र र प्रदेश सरकारमा राप्रपा सहभागी नहुने निर्णय गरेको छ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्था र हिन्दुराष्ट्र पुनस्र्थापनाका लागि आन्दोलनमा जाने प्रस्ताव गरेका थिए । आइतबारदेखि राजधानीमा सुरु भएको केन्द्रीय समिति बैठकमा आफ्नो समसामयिक प्रस्ताव पेस गर्दै लिङ्देनले देशको वर्तमान अवस्थालाई ध्यान दिई सडक संघर्षमा जानुको विकल्प नभएको बताएका थिए । पदाधिकारी बैठकले सर्वसम्मत रुपमा आन्दोलनमा जाने निर्णय गरेको छ । राप्रपाले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने, समान विचार भएकाहरूसँग एकता, सहकार्य गर्ने, हिन्दुराष्ट्र पुनस्र्थापना र राजतन्त्रको पक्षमा आन्दोलन गर्ने निर्णय भएको हो ।
अध्यक्ष लिङ्देनले देशमा पुँजी निर्माण हुन नसकिरहेको अन्योलपूर्ण अवस्थामा पनि सत्तापक्ष र प्रतिपक्ष समेत मिलेमतोमा कमाऊ धन्दामा लागेको आरोप लगाए । यस्तै भ्रष्टाचारका हरेक काण्डमा दलका नेताहरूको संलग्नता देखिनुले राजनीतिप्रति वितृष्णा पैदा गर्दै गएको उनको जिकिर थियो । यस्तै लिङ्देनले राप्रपाको एजेन्डाका पक्षमा जनमत बढ्दै गएको निष्कर्ष समेत बैठकमा सुनाएका थिए । ‘आ–आफ्नो सांगठनिक तागतमा चारैतिरबाट आन्दोलन र जनदबाब सिर्जना गरौँ’, बैठकमा लिङ्देनले भने, ‘राप्रपाबारे भ्रम सिर्जना गर्ने, राप्रपा नेतृत्वलाई योजनाबद्ध रुपमा बदनाम गर्ने काम भने रोकिनुपर्छ ।’ बैठकमा महामन्त्री डा. धवलशमशेर राणाले बृहद आन्दोलन सम्बन्धी कार्य योजना प्रस्तुत गरेका थिए ।
राप्रपाले तीन आधारका कारण देशभर आन्दोलन गर्ने निष्कर्ष निकालेको छ । पहिलो, आर्थिक सूचकहरुले देशले संघीयता धान्न सक्दैन भन्ने देखाएको, दोस्रो, हिन्दु राष्ट्र पुनस्र्थापनाको एजेण्डाका कारण पार्टीप्रति आकर्षण बढेको र आन्दोलनको नेतृत्व राप्रपाले गरोस् जनआकांक्षा रहेको उसको दाबी छ । ‘राप्रपाले मिहिनेत गरोस्, सबैलाई समेटोस्, देश बचाउने आन्दोलनमा हामी पनि साथ दिन्छौं भनेर फिडब्याक आएको छ,’ राप्रपाका एक नेताले भने । मेडिकल व्यवसायी प्रसाईंले आह्वान गरेको प्रदर्शनमा हजारौं मानिस स्वस्फूर्त सहभागी हुनुले पनि देश आन्दोलनको मुडमा रहेको प्रष्ट भएको राप्रपाका नेताहरुको भनाइ छ । प्रसाईले ७ मंसिरमा काठमाडौंमा प्रदर्शन गरेका थिए, जसमा ९ हजारभन्दा बढी मानिस सहभागी भएको सुरक्षा निकायको रिपोर्ट छ ।
यता, प्रधानमन्त्री प्रचण्डले भने आफूलाई अझै धेरै भ्रष्टाचार र माफियामाथिको छानबिन अघि बढाउने चाहना भएको जनाएका थिए । मंगलबार राज्य व्यवस्था तथा सुशासन समितिमा बोल्दै प्रधानमन्त्री प्रचण्डले आफूले चाहे जस्तोगरी काम गर्न नसकेको जनाएका हुन् । उनले एनसेल सेयर खरिद बिक्री प्रकरणमा आफ्नो र छोरीको नाम जोड्नु वर्तमान राजनीतिक प्रणाली, संविधान र गणतन्त्रविरुद्धको आक्रमण भएको बताए । सरकार र शीर्ष नेता आफ्नो बचाउमा लाग्दै गर्दा राजाले पनि पछिल्लो समय सक्रियता बढाउन थालेका छन् ।
सत्ताच्यूत भएपछि केही समय मौन रहेका पूर्वराजा पहिलो संविधानसभाबाट संविधान निर्माण हुन नसकेसँगै केही खुल्न थालेका थिए । त्यसको सुरुवात उनले आफ्नो जन्मदिन, नयाँ वर्ष, दशैं र विभिन्न चाडपर्व जस्ता अवसरलाई छोपेर विज्ञप्तिमार्फत सार्वजनिक गर्ने गरेका थिए । सुरु–सुरुका विज्ञप्ति र सम्बोधनमा उनी देशको विकास, नागरिकको स्वास्थ्यको चिन्ता र प्रगतिको कामना गर्थे । अहिले उनी त्यतिमा रोकिंदैनन् । मुलुकको विकास रोकिएको, अस्थिरताले जरा गाडेको, भ्रष्टाचार बढेको, भागबण्डाको राजनीति चलेको भनेर निराशालाई सार्वजनिक गर्छन् भने जनताले विकल्प खोजेको भन्दै ‘राजसंस्था विना प्रजातन्त्र नटिक्ने’ आशय व्यक्त गरिरहेका छन् । पछिल्लो समय उनले देशका मठमन्दिरको दर्शनको बहानामा नागरिक तथा राजनीतिक अन्तक्र्रिया पनि बढाएका छन् । जनधारणा साप्ताहिक


