–प्रीति रमण
कुनै पनि देशको अर्थतन्त्र त्यहाँको आन्तरिक तथा बाह्य सूचकहरु, आयात तथा निर्यात, बैंक र वित्तको नाफाघाटाको अवस्था, बजारको चलायमान, सेयर बजार, उत्पादनको कमीवृद्धि र व्यवसायको अवस्थामा निर्भर हुन्छ । यी सूचकहरुको अवस्था सकारात्मक भए मात्र त्यो देशको अर्थतन्त्र पनि ठीक अवस्थामा रहेको मान्ने गरिन्छ । समग्र आर्थिक विकासको पाटोमा महत्वपूर्ण भूमिका रहेका यी सूचकको उतारचढाव नै अर्थतन्त्रको ऐना हो । केही वर्षयता नेपालको अर्थतन्त्र पनि संकटग्रस्त छ । ८ वर्षअघिको भूकम्प, त्यसपछिको कोभिड र लकडाउनलगायत बाह्य तथा आन्तरिक कारणले अर्थतन्त्र संकटोन्मुख भएको थियो । एक समय त नेपालले आफ्नो वैदेशिक मुद्रा सञ्चितिका लागि केही निश्चित वस्तुको आयातमा प्रतिबन्ध नै लगाउनु परेको थियो । तर, अर्थतन्त्र संकटमा भइरहँदा पनि नेपालको एउटा क्षेत्र भने सधैं नाफामा रहिरह्यो, त्यो हो बैंक तथा वित्तीय क्षेत्र ।
चालु आर्थिक वर्षको पहिलो ४ महिना अर्थात कात्तिकसम्मको तथ्यांकलाई नै हेर्ने हो भने पनि वाणिज्य बैंकहरुले २० अर्ब ७३ करोड रुपैयाँ खुद नाफा गरेका छन् । उक्त अवधिसम्म नबिल बैंकले सर्वाधिक २ अर्ब १६ करोड खुद नाफा कमाएको छ । ग्लोबल आईएमई बैंकले १ अर्ब ९४ करोड, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १ अर्ब ८६ करोड तथा प्राइम बैंकले १ अर्ब ५३ करोड खुद नाफा कमाएको छ । यस अवधिमा सिद्धार्थ बैंकको खुद नाफा सबै भन्दा कम अर्थात् ३३ करोड ३८ लाख छ । त्यस्तै लक्ष्मी सनराइज बैंकले ५१ करोड ५९ लाख, सिटिजन्स बैंकले ५८ करोड ६२ लाख, नेपाल एसबिआई बैंकले ६० करोड ५६ लाख र नेपाल बैंकले ६६ करोड ८१ लाख खुद नाफा कमाएको छ । स्ट्यान्डर्ड चाटडड बैंकले ९८ करोड, कुमारी बैंकले ८८ करोड, सानिमा बैंकले ७७ करोड,माछापुच्छ्रे बैंकले ६७ करोड,एभरेष्ट बैंकले १ अर्ब ८ करोड, एनआइसी एशिया बैंकले १ अर्ब ३७ करोड र आरबिबि बैंकले १ अर्ब २० करोड नाफा गरेको छ । यस अवधिमा कृषि विकास बैंक भने घाटामा रहेको छ । बैंकको खुद नोक्सानी २७ करोड ८८ करोड छ ।
चालु आर्थिक वर्षमा मात्र होइन, गत र अघिल्ला वर्षमा पनि बैंक तथा वित्तीय क्षेत्र नाफामा नै थियो । तर, अर्थतन्त्र भने नकारात्मक अवस्थामा हुनु र बैंक तथा वित्तीय क्षेत्र नाफामा हुनुको तालमेल भने मिल्न सक्दैन । अर्थतन्त्रमा संकटकै कारण व्यवसायीहरु निरन्तर घाटामा छन् । मुलुकका ठूला सहरहरुमा अहिले सटरहरु खाली भएका छन् । पहिलोजस्तो व्यवसाय नहुँदा व्यवसायी भाडा तिर्न नसकेर धमाधम व्यवसायबाट पलायन भइरहेका छन् । अर्थतन्त्रका सूचकहरुमा पनि उल्लेख्य सुधार आइसकेको छैन । सेयरबजारमा बल्ल उत्साह देखिन थालेको छ । तर, देशमा नै लगानीको वातावरण सिर्जना भइसकेको छैन । अझै किसानहरु आफ्ना उत्पादन नबिकेर र भाउ नपाएर सडकमा फाल्नुपर्ने अवस्थामा छन् । तीव्र मुद्रास्फीतिका कारण उपभोग्य वस्तुको मूल्य अकाशिएको छ । सामान्य आय भएका श्रमिकहरुको जीवनयापन कठिनाइपूर्ण भएको छ ।
अर्थतन्त्रका ऐना मानिने यी क्षेत्रहरु समस्याग्रस्त भइरहँदा बैंक तथा वित्तीय क्षेत्र भने किन नाफामा भए ? व्यवसायी घाटामा भइरहँदा त्यही व्यवसायीलाई ऋण दिने बैंकहरुले कसरी नाफा कमाउन सके ? यसको सोझो उत्तर हो, बैंकहरुको नवसामन्तवादी चरित्र । पछिल्लो समय बैंकहरुले व्यवसायीलाई ऋण दिएपछि आफूखुसी ब्याजदर बढाउने गरेका छन् । निक्षेपमा निकै कम ब्याज दिने बैंकहरु ऋणीलाई आफुखुसी कस्न भने निकै माहिर छन् । घरजग्गा, अटोलोनमा चाहिएजति ऋण दिने बैंकहरु उत्पादनमूलक क्षेत्रमा भने लगानी गर्न हिच्किचाउने गरेका छन् । एकपटक बैंकबाट ऋण लिएका ऋणीहरु जीवनभर त्यसैको ब्याज र सावाँ चुक्ता गर्न बाध्य हुनुपर्ने अवस्था छ । ऋण तिर्न नसकेर धेरैको धितो राखेका घरजग्गा लिलामी पनि भएका छन् । तर, बैंकहरुले आफुखुसी गरिरहँदा पनि नियामक निकाय नेपाल राष्ट्र बैंक लगायतले कारबाहीको दायरामा ल्याउन सकेको छैन ।
नेपालको बैंक तथा वित्तीय क्षेत्रमा पनि निश्चित घरानाको एकाधिकार देखिन्छ । निश्चित व्यावसायिक घरानाले बैंक तथा वित्तीय क्षेत्र, बिमा, लघुवित्तजस्ता क्षेत्रमा लगानी गरेका छन्, आफ्नो व्यवसायका लागि ऋण लिनका लागि उनीहरुलाई कुनै असहजता छैन । उनीहरु नै संसदजस्तो कानुन निर्माणको स्थानमा पुगेका छन् । त्यसैले एउटा निश्चित समूहले नेपालको समग्र अर्थतन्त्र नै प्रभावित गर्ने अवस्था निम्तिएको छ । तर, सरकार भने यस्तो एकाधिकारलाई तोड्न असफल भइसकेको छ । निश्चित व्यावसायिक घरानाका लागि बैंक तथा वित्तीय क्षेत्रमा लगानी दुहुनो गाई बराबर भएको छ । गाउँघरका सामन्त वर्गले गरिबलाई थोरै ऋण दिएर आफुखुसी ब्याज असुल्ने, ऋण तिर्न नसक्ने घरजग्गा कब्जा गर्ने अवस्था थियो, त्यो भूमिकामा अहिले बैंक तथा वित्तीय क्षेत्र देखिएको छ । त्यसैले बैंक तथा वित्तीय क्षेत्रलाई अहिले लगामको आवश्यकता परेको छ ।
सरकारले बैंक तथा वित्तीय क्षेत्रका लागि लगानीका लागि विभिन्न क्षेत्र र रकमको सीमा तोकेको छ । तर, ती क्षेत्रमा पर्याप्त लगानी हुन सकेको छैन । सहुलियत ऋणमा पनि पहुँच निश्चित वर्गको नै छ । कृषि, उद्योग तथा कलकारखाना र नयाँ उद्यमका क्षेत्रमा उनीहरुले न्यून लगानी गरेका छन् । बरु, घरजग्गा र अटोजस्ता अनुत्पादक क्षेत्रमा उनीहरुको लगानी बढिरहेको छ । यसले बैंक तथा वित्तीय क्षेत्रलाई फाइदा पुगे देशको अर्थतन्त्रलाई प्रत्यक्ष नोक्सान भइरहेको छ । उनीहरुलाई सही दिशा देखाउने काम सरकारले गर्न आवश्यक छ ।-जनधारणा साप्ताहिकबाट