एजेन्सी — पछिल्लो समय ट्वीटरको अर्को प्रतिस्पर्धी ब्लुस्काई सोसलका प्रयोगकर्ताको संख्यामा उल्लेख्य वृद्धि देखिएको छ । नीलो चेकमार्क, सबस्क्रिप्सन र अन्य विविध सुविधामा गरिएको परिवर्तनका कारण दुविधा र अन्योल सिर्जना भएपछि ट्वीटरका थुप्रै प्रभावशाली व्यक्ति ब्लुस्काईजस्ता वैकल्पिक प्लाटफर्मतर्फ मोडिएका छन् ।
गत साता अमेरिकी युवा सांसद एलेक्जेन्ड्रिया ओकासियो–कर्टेज, लेखक एवं कमेडियन ड्रिल, मोडल क्रिसी टाइजेनलगायतले ब्लुस्काईमा एकाउन्ट खोलेका थिए । सन् २०१९ मा ट्वीटरले नै सञ्चालनमा ल्याएको ब्लुस्काई हाल ट्वीटरबाट अलग भइसकेको छ । बेटा भर्सनमा मात्रै उपलब्ध यो प्लाटफर्म ४० हजारभन्दा धेरै प्रयोगकर्तामाझ पुगेको छ । यो एप गुगल प्ले स्टोरमा ३ लाख ६० हजार र आईओएसमा १ लाख डाउनलोड भएको छ । इन्फ्लुएन्सरहरूले ट्वीटरमै ब्लुस्काईको आफ्नो ह्यान्डल सेयर गरिरहेका छन् । ब्लुमबर्गका अनुसार एपमा जोडिन धेरैले पालो पर्खेर बसेका छन् । आफ्नो इमेल आईडीमार्फत रजिस्ट्रेसन गरेर वेट लिस्टमा बसेकाहरूलाई एपले केही समयमा इन्भिटेसन कोड पठाउँछ ।
त्यो कोड राखेपछि एपमा प्रवेश पाइन्छ । हालै मात्र ट्वीटरले ख्याति प्राप्त व्यक्तिहरूको एकाउन्टबाट भेरिफिकेसन मार्क हटाएर पुनः राखिदिएको थियो । त्यो घटनापछि ट्वीटरको विकल्प खोज्ने क्रम ह्वात्तै बढेको छ । विशेषतः सब्स्क्रिप्सनको मोडालिटी र घृणास्पद अभिव्यक्ति, स्पाम, आपराधिक सामग्री र मिथ्या सूचनासँग सम्बन्धित पटक–पटक फेरिइरहने ट्वीटरको नीतिका कारण सेलेब्रिटी, इन्फ्लुएन्सर र अन्य प्रयोगकर्ताले यसको विकल्प चाहेका हुन सक्ने अनुमान छ ।
यसका लागि उनीहरूले ट्वीटरकै हिस्सा रहिसकेको र स्वरूप तथा फिचरलगायत धेरै हिसाबले ट्वीटरसँग मिल्दोजुल्दो ब्लुस्काई रोज्ने क्रम बढ्दो छ । शनिबार मात्रै ट्वीटरका मालिक इलन मस्कले मिडिया सब्स्क्रिप्सनको सट्टा प्रयोगकर्ताहरूले प्रतिलेख पैसा तिरेर समाचार वा लेख पढ्न सक्ने नयाँ घोषणा गरेका थिए । मेबाट लागू गरिने भनिएको उक्त ‘वान–क्लिक’ सेवा सञ्चार संस्था र सर्वसाधारण दुवैका लागि फाइदाजनक हुने मस्कको भनाइ छ ।
मासिक सब्स्क्रिप्सन लिइरहनुभन्दा आफूलाई पढ्न/हेर्न मन लागेका लेख वा समाचारपिच्छे शुल्क तिर्न सकिने व्यवस्था ट्वीटरले शीघ्र सार्वजनिक गर्न लागेको छ । यसका लागि ट्वीटर किन हतारिएको छ भने उसले स्थापित र सक्रिय प्रयोगकर्ताहरूको भेरिफिकेसन ब्याज हटाउने र सञ्चार संस्थाहरूलाई पनि बेलाबखत चिढ्याएकाले उनीहरू दुवै वैकल्पिक माध्यमतिर लागेका छन् । यस्तोमा ट्वीटर आम्दानी बढाउने दौडमा मिहिनेत गरिरहेको छ । ट्वीटरको पे–पर–आर्टिकल यस्तो सयमा आएको छ जतिबेला मस्क डिजिटल मिडिया क्रिएटर र अन्य प्रयोगकर्ताहरूलाई रिझाउन र आकर्षित गर्न खोजिरहेका छन् ।
आइतबार साँझ उनले कार डिलरसिप गाई नामक पडकास्ट होस्टलाई उनका पडकास्टहरू ट्वीटरमा पोस्ट गर्न आग्रह गरेका थिए । उनले विश्वभरका क्रिएटरहरूलाई ट्वीटर सब्स्क्रिप्सनमार्फत आफ्ना कन्टेन्ट मनिटाइज गर्न पनि अनुरोध गरिरहेका छन् । त्यसरी मनिटाइज गरिएका कन्टेन्टबापत ट्वीटर पहिलो १२ महिना कुनै शुल्क नलिने र सम्पूर्ण आम्दानी क्रिएटरकै पोल्टामा जाने मस्कको वाचा छ ।

