काठमाडाैं । नेपालको ऐतिहासिक सतःछेँ (सत्तलघर) संस्कृति, परम्परागत पहिचान र भाषिक–सांस्कृतिक अमूर्त सम्पदाको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यका साथ मुनाफा वितरण नगर्ने कम्पनीका रूपमा दर्ताका लागि कम्पनी रजिष्ट्रारको कार्यालयमा सम्पूर्ण आवश्यक कानुनी प्रक्रिया पूरा गरी जुगि थाय् बाय् म्हालासाला खलः दर्ताको निवेदन पेश गरिएमा कार्यालयबाट कार्तिक १९ गते बिहिबारकम्पनीको नाम देवनागरी लिपि नेपाली भाषामा नलिएको कारणले अस्वीकृत गरिएको तथ्य सार्वजनिक भएको छ ।
नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विशेषतायुक्त मुलुक भएको संवैधानिक उद्घोष विद्यमान रहेको अवस्थामा समेत राज्यको एउटा जिम्मेवार निकायका पदाधिकारीले मातृभाषामा नाम राखेकै कारण दर्ता इन्कार गर्नु संविधानको मर्ममाथिको प्रहार हो ।
संविधानप्रदत्त भाषिक अधिकार अनुसार नेपाल भाषाले बागमती प्रदेश सहित ३ प्रदेशमा सरकारी कामकाजको भाषाका रूपमा मान्यता पाइसकेको र राजधानी अवस्थित रहेको उपत्यकाको रैथाने भाषा समेत रहेको अवस्थामा समेत, प्रशासनिक तहबाट मातृभाषामाथि यस्तो पूर्वाग्रही सोच प्रदर्शन गरी सेवा इन्कार गरिनु प्रशासनिक स्वेच्छाचारिता र संस्थागत भाषिक विभेदको पराकाष्ठा हो ।
कम्पनी रजिष्ट्रारको कार्यालय स्वयं संविधानको मर्मअनुरूप बहुभाषिक नीति अवलम्बन गर्दै समावेशी र बहुभाषिक सार्वजनिक सेवा प्रवाह गर्नुपर्ने दायित्व बोकेको राज्यको जिम्मेवार निकाय हो । यस्तो निकायले नागरिकले आफ्नो मातृभाषामा नामकरण गर्न खोजेकै आधारमा कुनै पनि कम्पनी दर्ता गर्न इन्कार गर्नु कानुनी र नैतिक कुनै पनि दृष्टिले स्वीकार्य हुन सक्दैन ।
अतः कम्पनी दर्ता इन्कार गर्दा नेपाल भाषामा नाम राखिएको विषयलाई आधार बनाइएको त्रुटिपूर्ण निर्णय तत्काल बदर गर्न हामी सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउँदछौं ।


