काठमाडौं । धादिङका ज्यो.पं. तोयनाथ अर्ज्यालको आत्मवृत्तान्त ‘जिन्दगीका पानाहरू’ लोकार्पण भएको छ।
९० औँ जन्मदिवसको उपलक्ष्यमा बिहीबार नेपाल प्रज्ञाप्रतिष्ठान काठमाडौंमा प्रतिष्ठानका कुलपति भूपाल राईको उपस्थितिमा अर्ज्यालद्वारा लिखित आत्मवृत्तान्त लोकार्पण गरिएको हो। विमोचित कृतिमाथि टिप्पणी गर्दै सहभागी वक्ताहरूले प्रस्तुत कृति ‘जिन्दगीका पानाहरू’ मानव जीवनमा आइपर्ने थरी थरीका कथा–व्यथा, हाँसो–रोदन, सदाशय, सद्विचार, उत्प्रेरणा, हौसला, आरोह–अवरोह आदिले भरिपूर्ण रहेको बताएका छन्।
यो कृति अर्ज्यालको जीवनका कथा–व्यथाले मात्र भरिएको नभई वर्तमान र भावी पिँढीलाई समेत प्रेरणादायी र ज्ञानवर्द्धक सामग्रीयुक्त रहेको उनीहरूको भनाइ थियो। २६ खण्ड र ६४ उपखण्डमा विभाजित आत्मवृत्तान्त असाध्यै सरल र सरस भाषाशैलीमा लेखिएको छ। यो संस्मरण नेपाली साहित्यको मूल्यवान् सम्पत्तिका रूपमा सुरक्षित हुने बताइएको छ। साथै आफ्नो जन्मथलो र वरपरका गाउँमा समेत शिक्षाको जग बसाल्न योगदान पुर्याउने लेखकले धादिङको नलाङ,सांकोसदेखि नर्वे र अमेरिकासम्मको सजीव चित्र उतारेका छन्।
उनीसँग कृषि, प्रविधि, प्रशासन, अध्यापन र ज्योतिषशास्त्र समेतको गहिरो ज्ञान तथा अनुभव रहेको स्पष्ट सूचना दिने यस पुस्तकले इतिहास विधामा समेत प्रभाव पार्ने धारणा टिप्पणीकर्ताहरूले व्यक्त गरेका छन्।
लोकापर्ण समारोहमा प्राज्ञ अमर न्यौपाने, प्रा. डा. रामचन्द्र लम्साल, ‘नेपाली भाषा बचाऔँ अभियान’का अभियन्ता डा. बलदेव अधिकारी, कवि डा. नवराज लम्साल र पूर्वप्रशासक राममणि दुवाडी‚.सामुदायिक रेडियो प्रसारक संघका निवर्तमान अध्यक्ष सुवास खतिवडा लगायत सहभागी थिए।


