–निमकान्त पाण्डे
दशवर्षे जनयुद्धको आलोकमा नेपाली राजनीतिमा स्थापित भएको नेकपा माओवादी ९माओबादी(केन्द्र० संसदीय व्यवस्थामा आएदेखि हरेक चुनावमा खिइँदै गएको छ । २०६४ सालको पहिलो संविधानसभाको निर्वाचनमा भाग लिँदै पहिलो पटक चुनाव लडेको माओवादी त्यतिबेला एक नम्बरको पार्टी बनेको थियो । तर, त्यसयता निरन्तर ओरालो यात्रामा लागेको माओवादीको अवन्नति अझै रोकिएको छैन । हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचमा तेस्रो पार्टी भएको माओवादीले अघिल्लो चुनावको तुलनामा निराशाजनक परिणाम ल्याएको हो । यसले माओवादी विस्तारै जनतामाझ अलोकप्रिय बन्दै गएको पनि स्पष्ट पारेको छ ।
जनयुद्ध गरेर आएको र पटकपटक सत्ताको जिम्मेवारी सम्हालेको माओवादीले अपेक्षा गरेजस्तो परिणाम किन आएन त रु किन निरन्तर जनमत गुमाउँदै गएको छ रु पछिल्लो समय पार्टी जनतामाझ अलोकप्रिय हुनुको कारण के होला त रु माओवादी केन्द्रका स्वयं अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि कारण खोज्ने तयारीमा छन् । उनले सार्वजनिक रुपमा नै प्रतिनिधि सभामा अपेक्षित परिणाम प्राप्त नहुनुको कारण खोजी र त्यसको उचित समाधान गरिने जनाएका छन् ।
पहिलो संविधानसभा चुनावमा माओवादीले प्रत्यक्षतर्फ १२० सिटसहित ३१ लाख ५४ हजार ५१९ र समानुपातिकतर्फ १०० सिटसहित ३१ लाख ४४ हजार २०४ मत पाएको थियो । माओवादी एक्लैले प्रत्यक्षतर्फ ५० प्रतिशत सिटमा जित हासिल गरेको थियो । २०७० सालमा भने माओवादी पहिलोबाट एकैपटक तेस्रो दलमा झर्न पुग्यो । त्यतिबेला माओवादीले २६ सिट जितेको थियो भने १६ लाख ९ हजार १४५ मत पाएको थियो । समानुपातिकतर्फ १४ लाख ३९ हजार ६०९ मतसहित ५४ सिट जितेको थियो ।
२०७४ सालको संसदीय निर्वाचनमा एमालेसँग गठबन्धन माओवादी केन्द्रले प्रत्यक्षतर्फ ३६ सिट र समानुपातिकमा १७ सिट जित्दै तेस्रो दल बनेको थियो । माओवादी अवस्था यसपटकको संसदीय चुनावमा झनै दयनीय बनेको छ । सत्ता गठबन्धनबाट चुनावमा होमिएको माओवादीले प्रत्यक्षतर्फ १७ सिट जितेको छ भने समानुपातिकतर्फ ११ लाख ६२ हजार १२४ मत पाएको छ । जसअनुसार माओवादीले १४ सिट पाउने सम्भावना छ । माओवादी यसपटक पनि तेस्रो स्थानमा नै छ भने निर्णायक शक्ति विस्तारै गुमाउन थालेको छ ।
माओवादीप्रति जनविश्वास घट्दै जानुको पहिलो कारण हो, सत्तामा पुगेर पनि जनअपेक्षा अनुसार काम गर्न नसक्नु । माओवादी जनयुद्ध गरेर शान्ति प्रक्रियामार्फत संसदमा त आयो । तर, कुनै बेला ‘खसीको टाउको झुन्ड्याएर कुकुरको मासु बेच्ने’ थलोको रुपमा आफैले गाली गर्दै आएको संसदको फोहोरी खेलमा आफू स्वयं सहभागी भयो । यसबीचमा माओवादीका प्रचण्ड, डा। बाबुराम भट्टराई नेतृत्वमा सरकार बन्यो । अन्य दलको नेतृत्वमा पनि माओवादी सहभागी भयो । तर, यसले माओवादीका नेताको जीवनस्तरमा मात्रै सुधार ल्यायो । उनीहरु नवधनाढ्यका रुपमा उदाए ।
माओवादीका नेताहरु मात्रै होइन, स्वयं प्रचण्डको आर्थिक अवस्थाबारे पनि पटक(पटक प्रश्न उठ्ने गरेको छ । त्यही कारणले आफ्नै सहयोद्धाले एकपछि अर्को गर्दै प्रचण्डको साथ छोड्दै गए । पार्टी पनि पटक(पटक विभाजित भयो । यसले पनि जनतामा माओवादी क्रमशः घट्दै गएको पाइन्छ । जनताले माओवादी पनि पुरानै ढर्राका पार्टीभन्दा फरक नभएको महसुस गर्न थाले । जसको असर अहिले माओवादीको हैसियतले स्पष्ट पारेको छ ।
अर्कोतर्फ माओवादीको नेतृत्वमा लामो समयसम्म एउटै नेताको कब्जा हुनु पनि यो पार्टी अलोकप्रिय हुनुको अर्को कारण मान्न सकिन्छ । हाल नेपालका राजनीतिक दल मात्र नभई सिंगो राजनीति नै सीमित नेताहरुको कब्जामा छ । जसका कारण जनतामा पुराना दलप्रति निराशा बढ्दै गएको छ । यसले नयाँ पार्टी र स्वतन्त्रहरुले आफ्नो पक्षमा जनलहर र वितृष्णाको मत पाउन थालेका छन् । माओवादी पार्टीको नेतृत्वको कथा पनि उस्तै नै छ ।
त्यति मात्र नभई पछिल्लो समय माओवादी राजनीतिक अस्थिरताको एउटा कारण पनि बन्दै गएको छ । अध्यक्ष प्रचण्डको राजनीतिक स्वार्थका कारण दलहरुलाई सहयोग गर्नेबारे बार्गेनिङ हुँदा राजनीतिक अस्थिरता सृजना भएको छ । माओवादी सरकारमा सहभागी हुन थालेयताका कुनै पनि सरकारले ५ वर्षे कार्यकाल पूरा गर्न सकेका छ्रैनन् । यस्तो हुनुमा धेरथोर मात्रामा माओवादीको भूमिका पनि छ भन्ने यथार्थलाई नकार्न सकिन्न ।
त्यसकारण कमरेड प्रचण्डलाई पंक्तिकारको सुझाव छ, यति माओवादी पार्टीप्रति फेरि जनताको भरोसा जित्ने हो भने पार्टीकै नेता र कार्यकर्तालाई एकजुट र उत्साहित बनाउन आवश्यक छ । त्यसका लागि नेतृत्व हस्तान्तरण वा योग्यलाई जिम्मेवारी दिने पहिलो शर्त हुन सक्छ । अर्कोतर्फ सरकारमा गएर पार्टीको सिद्धान्तअनुसार मजदुर श्रमिक र गरिब वर्गको हितमा हुने काम गर्न सकेमा र भ्रष्टाचार अनियमिततामा संलग्न आफ्नै नेतालाई कारबाही गर्न सकेमा मात्र जनविश्वास पनि बढ्दै जानेछ । नत्र माओवादीको नामोनिशान आगामी चुनावहरुमा झन् खस्किँदै गएर मेटिने सम्भावना संकेत भैरहेको छ, आगे कमरेडहरुलाई चेतना भया !


