काठमाडौं । गएको हप्ता पूर्व राजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको अवसरमा दिएको अभिव्यक्तिको संसद्मा आरोप-प्रत्यारोप भएको छ।
आइतबार बसेको संसद् बैठकमा सांसदहरूबीच आरोप-प्रत्यारोप भएको हो। प्रजातन्त्र दिवसका अवसरमा पूर्वराजा शाहले राष्ट्र जोगाउने हो भने आफूलाई साथ दिन देशबासीलाई आह्वान गरेका थिए।
उक्त अभिव्यक्तिको अहिले विरोध र समर्थन भइरहेको छ। आइतबारको संसद् बैठकमा कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपाने अब फेरि राजाका रुपमा सत्ता फर्किन आश नगर्न शाह र उनका समर्थकलाई आग्रह गरिन्।
उनले शाहको अभिव्यक्तिलाई अराजकताको संज्ञा पनि दिइन्। ‘लोकतन्त्रमा बोल्न पाइन्छ तर समाजलाई अराजकतिर धकेल्न कसैलाई पनि छुट हुँदैन। नेपालमा लाेकतन्त्र कसैको कृपाले आएको होइन। नेपाली जनताको शक्तिले हासिल गरेको हो’, उनले भनिन्।
न्यौपानेले लोकतन्त्रको विवकल्प लोकतन्त्र भन्दा अरु हुनै नसक्ने जनाइन्। उनले लोकतन्त्रमा व्यक्तिबाट गल्ती भए व्यक्तिलाई सच्याएर जान सकिने बताइन् तर कुनै पनि बहाना गरेर गणतन्त्रमाथि प्रहास गर्न नपाइने चेतावनी दिइन्।
उनले पूर्व राजालाई सत्ताको मोह भए चुनाव लडेर देखाउन चुनौती दिइन्। ‘लोकतन्त्रले जनतालाई रेतीबाट नागरिक बनायो। नागरिकलाई सत्तामा पुग्ने बनायो’, उनले भनिन्, ‘सत्तामा फर्किन मन लागेको भए नागरिकसरह २०८४ को निर्वाचनमा भाग लिनुहाेस्। पूर्व राजा र समर्थकलाई मेरो सुझाव छ। कहिल्यै पुरा नहुने झर्ला र खाउँला भन्ने सपना त्यागिदिनुस्।’
न्यौपानेको उक्त अभिव्यक्तिको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिवाद गरे।
उनले राजासहितको प्रजातन्त्रको वकालत गर्ने आफ्नो पार्टी रहेको भन्दै न्यौपानेको अभिव्यक्तिको खण्डन गरेका थिए।
‘तपाईंले गणतन्त्र लडेर ल्याएको होस् अथवा विदेशीको बुइँ चढेर ल्याएको होस् यो गणतन्त्र लुटतन्त्रमा परिणत हुन्छ भने हामी निरन्तर रुपमा विरोध गरिरहेने छौँ’, लिङ्देनले भनेका थिए।


